जसपाका चार सांसदको रिट सर्वोच्चमा दर्ता
२ जेठ, काठमाडाैँ । लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले आफुलाई गरिएको कारवाहीको विरुद्ध रिट लिएर सर्वोच्च अदालतमा पुगेका थिए । लुम्बिनीमा मन्त्री रहनुभएको उहाँहरुलाई जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई कारवाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी दिनुभएको थियो ।
जसपा विवादकै बीच एमाले नेता शंकर पोखरेलको सरकार जोगाएर विपक्षीको अविश्वस प्रस्तावको हस्ताक्षर फिर्ता लिनुभएका उहालाई जसपाको उपेन्द्र यादव पक्षकाे कारवाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ गते पदमुक्त गर्नुभएको थियो । सभामुख माओवादी पक्षका भएकाले ठाकुरको पत्र बेवास्ता गर्दै यादव पक्षको कारवाही सदर गरेपछि उहाहरू सो निर्णयविरुद्ध रिट लिएर सर्वोच्च आउनुभएको हो । सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या, मौलिक हकलगायतका मुद्दाहरुको सुनुवाई र रिट दर्ता हुने भएपछि जसपाका चार सांसद उत्प्रेषणको आदेशबाट प्रदेशसभाको कारवाही बदर होस् भन्ने रिट दर्ता भएको हाे ।
प्रकाशित मिति : 17:08









