स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्दै जनतामा निरासा छर्ने काम नगराैँः प्रधानमन्त्री ओली
२ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सिजनको आपुर्ति सहज र पर्याप्त बनाउने काममा लाग्न उद्योग व्यवसायीलाई निर्देशन दिनुभएको छ । शनिबार साँझ बालुवाटारस्थित सरकारी निवासमा सर्वपक्षीय भेलामा उहाँले स्वदेशी उत्पादनले नपुगे आयात गर्न तथा अक्सिजन प्लाण्ट स्थापना लगायतको काम गर्न निर्देशन दिनुभएको हो ।
उहाँले अक्सिजन आयातमा समस्या भए सरकारले तत्काल सम्बोधन गर्ने, अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत् आपुर्तिको व्यवस्था मिलाउने बताउनुभयो । कोभिड १९ महामारी अझै कति समय रहन्छ भन्ने कसैलाई थाहा नभएकाले अक्सिजन प्लाण्ट स्थापना गर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले अक्सिजन जहाँ पाउँछ त्यहाँबाट ल्याउने र त्यसकार्यमा समस्या भए सरकारले आवश्यक संयोजनकारी भूमिका निर्वाह गर्ने आश्वासन दिनुभयो ।
उहाँले अनुदानको कुरा नगरी सक्दो छिटो अक्सिजन उत्पादन गर्ने काममा केन्द्रीत हुन आग्रह गर्नुभयो । अघिल्लो बर्ष कोभिडको पहिलो लहरका समयमा सरकार हौसिएको र संयोजन पनि राम्रो नभएको भन्दै अब भने उपयुक्त संयोजन हुने व्यवस्था सरकारले मिलाउने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “कति दिन भित्र अक्सिजन उत्पादन गर्नसक्छौ भन्ने कुरामा केन्द्रीत हुनुहोस् । लगानी गर्न पुगेन भने सरकारले अलिकति हाल्दिनु र त्यसको मुल्य असुल उपर नहुने जस्तो भयो भने अनुदान दिने हो । पछि उपादेयता भएन भने आउनु । सुरुमा नै अनुदान दिनुपर्ने भन्ने चाहीँ हुदैन ।”
उहाँले उत्पादन वृद्धि, आयात र प्लाण्ट स्थापना गर्ने कार्य संगसंगै अघि बढाएर तत्काल अक्सिजन आपुर्तिलाई प्रभावकारी बनाउने ढंगमा अघि बढ्न उहाँले उद्योग व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले संकटको समयमा अत्यावश्यक वस्तुहरुमा अनुचित लाभलिने काम नगर्न पनि आग्रह गर्नुभयो । उहाँले संकटको बेला सार्वजनिक खरिद ऐनमा भएका प्रावधानहरु कार्यान्वन गर्न नसकिने बताउनुभयो । उहाँले मानव जीवन जोगाउने सवालमा खरिद ऐनमा भए अनुसार प्रक्रियामा जान नसकिने भएकाले मावनसेवा गर्ने सोचले अभिप्रेरित भई भेन्टिलेटर, अक्सिजन लगायत कोभिड उपचारमा आवश्यक अत्यावश्यक सामाग्रीको अभाव नहुनेगरी व्यवस्थापन गर्न पनि आग्रह गर्नुभयो ।
भ्रमपुर्ण ढंगले अक्सिजनको माग भयो
प्रधानमन्त्री ओलीले भ्रमपुर्ण ढंगले अक्सिजनको माग बढाउने काम भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “यतिबेलाको जल्दो बल्दो समस्या अक्सिजनको देखियो । अक्सिजनको आपुर्ति गर्न नसक्नुको कारण आयात र उत्पादन पर्याप्त नभएको र दोश्रो मनोबैज्ञानीक डरका कारण मान्छेहरुले सिलिण्डर नै लैजाने गरेकाले समस्या देखिएको । भ्रमपुर्ण ढंगको माग पनि भएको छ । माग बमोजिम भन्दा पनि आवश्यकता र प्राथमिकताका अनुसार दिनुपर्ने देखिन्छ । होल्ड हुन नदिने । ” अक्सिजन भरेर घरमा राख्नु भन्दा महामारीमा जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न पनि उहाँले सबैलाई आव्हान गर्नुभयो ।
उहाँले भन्नुभयो “सावधानी नअपनाउने, आउन नदिने प्रतिवद्धता पनि नगर्ने, आफुले लापरवाही गरिराखिएको छ । त्यसकारण आउँछ आउँछ यसघरमा भनेर आउनका लागि तयारी गर्ने । त्यसो हो भने सावधानी अपनाए भयो नि अक्सिजन सिलिण्डिर राख्नुपरेन नि ।” जनतालाई निरास बनाउने काममा एकाथरी मान्छेहरु सामाजिक सञ्जालमा सक्रिय हुने गरेको भन्दै उहाँले काम गर्ने संस्था र व्यक्तिलाई हत्तोत्साही र बद्नाम गर्न खोज्ने प्रवृत्ति उचित नहुने बताउनुभयो । उहाँले औषधी तथा औषधीजन्य सामाग्री आयात तथा विक्रि गर्ने उद्योगी र सम्बन्धीत संस्था तथा अधिकारीहरुले कोभिड उपचारका लागि आवश्यक औषधी छ र उचित मुल्यमा पाईन्छ भनी प्रतिवद्धताका साथै जनतालाई विश्ववस्त पार्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अस्पताल लगायत अत्यावश्यक सेवाका हटलाईनमा पालो लगाएर भएपनि फोन रिसिभ हुने व्यवस्था मिलाउन निर्देशन दिनुभयो । हटलाईनको नम्बरमा फोन उठ्दैन भन्ने गुनासो सुन्ने गरिएको भन्दै उहाँले त्यसतर्फ संवेदनशील भई सक्रियता देखाउन आग्रह गर्नुभयो ।
राज्यरजौटा भएर चलाउने प्रवृत्ति
प्रधानमन्त्री ओलीले महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि एकजुट हुनुपर्नेमा कतिपयले राजनीति गर्ने काम गरेको दाबी गर्नुभयो । उहाँले महामारीमा के कस्ता समस्या देखिएका छन् कसरी समाधान गर्न सकिन्छ भनेर संघ सरकारले सहयोग गर्न खोज्दा त्यसलाई अस्वीकार गरी प्रदेशलाई राज्यरजौटा जसरी चलाउन खोजेको टिप्पणी गर्नुभयो ।
उहाँले प्रदेश ७ ले संघको सहयोग नलिएकोप्रति असन्तुष्ठ हुदै आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो “यस्तोमा राजनीति गर्न छोड्नुहोस् । प्रदेश नम्बर ७ को सरकार, यहाँबाट के स्थिति छ भनेर मान्छे पठाउँदा हामीलाई चाहिदैन भनेर फिर्ता पठाउँछ । केन्द्रबाट मन्त्रीलाई अनुगमन गर्न पठाउँदा, सरसल्लाह गर्न पठाउँदा मान्छे फिर्ता पठाउँछ । जाउँ हाम्लाई चाहिदैन केहीपनि । यो भन्दा के हुन्छ ? प्रदेशका नाममा, के का नाममा राज्य रजौटा भएर चलाउने प्रवृत्तिहरु । मानविय संकटका बेला रजौटे प्रवृत्ति उचित हुनसक्छ र ? ”
सिस्टम नै कोल्याप्स भयो भन्ने ?
प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भनिएकोमा आपत्ती जनाउनुभयो । उहाँले स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिंगो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्न नमिल्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो “सिस्टम नै कोल्याप्स भयो ?हेल्थ सिस्टम, मेडिकल सिस्टम नै कोल्याप्स भयो भन्ने ? समस्या छन् पो भन्नु पर्यो । ”
सरकारका विरोधीहरुले केही पनि भएको छैन भन्ने गरेको भन्दै उहाँले परीक्षणको व्यवस्था नै नभएको मुलुकमा परीक्षण उपलब्ध हुने व्यवस्था मिलाउनु नै ठूलो उपलब्धि भएको बताउनुभयो । महामारीको पुर्वतयारी कुनै पनि मुलुकमा नहुने भन्दै उहाँले सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी काम गरेको दाबी गर्नुभयो । साथै उहाँले सबैलाई कोभिड १९ संक्रमण नियन्त्रणका लागि सरकारका प्रयासमा संगठित भएर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “सरकारका प्रयासहरुमा स्वास्थ्य क्षेत्र, निजी व्यवसायीक क्षेत्र गैह सरकारी संस्थाले, गैर आवासीय प्रतिनिधि लगायत सबैले आ–आफ्ना ठाउँबाट व्यवस्थित र संगठित ढंगले सहयोग गर्न आग्रह गर्छु । छरपस्ट ढंगले होइन । ” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा राख्न र प्रचारात्मक भन्दा पनि वास्तविक परोपकारी र मानविय सहयोगलाई प्रभावकारी ढंगले अघि बढाउन आग्रह गर्नुभयो ।
प्रकाशित मिति : 14:34









