मनमोहन अधिकारी सम्झिँदै एकढिक्का हुन एमाले पंक्तिलाई महासचिव पोखरेलको आह्वान
१३ वैशाख, काठमाडाैँ । एमाले महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मनमोहन अधिकारीको आदर्श र मूल्य मान्यताबाटै एमालेका नयाँ पुस्ता अघि बढ्नुपर्ने बताउनु भएको छ । २३ औं मनमोहन स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका महासचिव पोखरेलले विज्ञप्ति जारी गरी पार्टी एकताको पक्षमा एकढिक्का भएर उभिन मनमोहन अधिकारी सबैको प्रेरणाको स्रोत बन्ने बताउनु भएको हो ।
स्मृति दिवसका अवसरमा सन्देश दिँदै उपप्रधानमन्त्री एवं मनमोहन प्रतिष्ठानका अध्यक्ष पोखरेलले स्वर्गीय अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताउनु भएको छ । ‘सरल, शालीन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन्,’ उपप्रधानमन्त्री पोखरेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भन्नुभएको छ ।
स्वर्गीय अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेल्नुभएको उल्लेख गर्दै पोखरेलले भनेका छन्, ‘आजको यस विशेष दिनले नेकपा (एमाले)का सम्पूर्ण नेता-कार्यकर्ताहरुलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।’
उपप्रधानमन्त्री पोखरेल २०५१ सालमा अधिकारी नेतृत्वको एमालेको सरकारमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो । ‘२०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिष्ट पार्टी एमाले र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको थियो ।
तत्कालीन सरकारका लोकप्रिय कार्यक्रमहरु अहिले पनि जनताले उत्साहका साथ स्मरण गरिरहेका छन् । उहाँको नेतृत्वको तत्कालिन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन,’ पोखरेलको विज्ञप्तिमा भनिएको छ । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो ।
प्रकाशित मिति : 11:09









