१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सरकारको नीति तथा कार्यक्रम अाज, दिउँसो ४ बजे राष्ट्रपतिले संघीय संसदमा प्रस्तुत गर्ने

७ जेठ, काठमाडाैँ । सरकारले आगामी आर्थिक २०७५/०७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

संविधानबमोजिम राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछन् । संघीय संसद् सचिवालयले संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ४ः०० बजे राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तयारी गर्ने क्रममा संसद् भवनलाई सजाउनेदेखि लिएर सुरक्षा व्यवस्थालाई चुस्त बनाउने काम भएको छ । राष्ट्रपतिको स्वागत र सवारीलाई व्यवस्थित तुल्याउन सचिवालयले पूर्व अभ्याससमेत गरेको छ ।”

राष्ट्रपतिबाट हुने संघीय संसद्को सम्बोधन कार्यक्रममा सहभागी हुन आउने व्यक्तिको स्वागत तथा व्यवस्थापनका लागि कार्य विभाजन गरी कर्मचारी खटाइएको छ । उक्त विशेष कार्यक्रममा सहभागिताका लागि उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखलाई निम्त्याइएको छ ।

नेपालको संविधानमा माथिल्लो सदनका रुपमा राष्ट्रियसभा र तल्लो सदनका रुपमा प्रतिनिधिसभा छन् । प्रवुद्ध वर्गको प्रतिनिधित्व रहेको राष्ट्रियसभा ५९ सदस्यीय तथा प्रतिनिधिसभा २७५ सदस्यीय छन् ।

–रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार ०६:५८