४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश ३ मा प्रदेशसभा बजेट प्रस्तुत

३ जेठ, हेटौँडा । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७५÷७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भको ‘पूर्व बजेट’ प्रस्तुत गरेका छन् ।

आज बसेको प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा उनले २०७५÷७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सरकारको प्राथमिकताको विषयमा जानकारी दिएका छन् ।

बजेटले अनुदानको विषयमा सरकार गम्भीर रहेको भन्दै परिणाममुखी अनुदान वितरण, सीमान्तकृत समुदाय लक्षित कार्यक्रमलाई समेत प्राथमिकतामा पारेको छ । शिक्षा, स्वास्थ्य, सांस्कृतिक धरोहरको विषय पनि बजेटमा महत्वका साथमा आएका छन् ।

बजेटले प्रदेश नं ३ को १३ जिल्लामा नै सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म कालोपत्रे, प्रत्येक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, विद्यालय, प्रदेशमा नमूना विद्युत्गृह, शीत भण्डारण कक्षको निर्माणलाई समेत प्राथमिकतामा पारेको छ ।

मन्त्री ढुंगेलले प्रदेश सरकारले औद्योगिकीकरणलाई बढवा दिँदै कृषिलाई अब निर्यातमुखी बनाउने गरी प्रदेश सरकारले योजना निर्माण गरेको बताए । प्रत्येक मन्त्रालयले आफ्नो तहबाट प्राथमिकताका आधारमा ल्याएका योजनाको विषयमा गहन छलफल गरेर बजेट ल्याइने बताएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार १४:२३