लकडाउन खोल्ने निर्णय भएको छैन, भ्रमको पछि नलागाैँः उपप्रधानमन्त्री पोखरेल
२७ चैत, काठमाडाैँ । भोलि र पर्सी लकडाउन खोलेर काठमाडाैँ उपत्यकाबाट बाहिर जान दिने भन्ने हल्लाको पछि नलाग्न कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले अनुरोध गर्नुभएको छ । उहाँले धेरै सञ्चारमाध्यमले एकै पटक भ्रमपूर्ण समाचार सम्प्रेषण भएपछि सामाजिक सञ्जाल मार्फत समितिले त्यस्तो कुनै निर्णय नगरेको जानकारी दिनुभयो ।

संयोजक पोखरेलको भनाइ
‘ भोली र पर्सी ( २८-२९ चैत्र , २०७६ ) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ । यस किसिमको कुनै निर्णय नभएको , कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ ( लक डाउन ) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ !? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।
– ईश्वर पोखरेल
संयोजक
‘ कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति
प्रकाशित मिति : 15:32









