७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

कोरोनाविरुद्ध सामूहिक रुपमा काम गरे मात्रै सफल भइन्छ : मन्त्री ढकाल

२४ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ का बिरामीको उपचार तोकिएको अस्पताल मात्रै प्रयोग गरिने बताउनुभएको छ । कोराना उपचारको तयारीबारे विभिन्न छ अस्पतालको अनुगमन गरेर फर्किएको टोलीसँग उहाँले मन्त्रालयमा जानकारी लिएर निर्देशन दिने क्रममा भन्नुभयो, “जुन अस्पतालमा कोरोनाका बिरामीको उपचार हुन्छ, त्यो अस्पताल पूर्णरुपमा कोरोनाको उपचारमा मात्र प्रयोग गरौँ ।”

मन्त्री ढकालले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको अस्पताल पूर्णरुपमा कोरोनाका लागि उपचार शुरु गराउने र ती अस्पताल भरिएपछि मात्र अन्य अस्पतालमा उपचार गराउनुपर्ने बताउनुभयो । उहाँले सबै मिलेर काम गर्दामात्र सफलता प्राप्त गर्न सकिने भन्दै कोरोनाविरुद्धको लडाइँमा पनि सामूहिक रुपमै काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “एक व्यक्तिले भन्दा सामूहिकरुपमा काम गर्दा राम्रो हुन्छ र त्यो सफल पनि हुन्छ ।” उहाँले जस्तोसुकै चुनौती पनि सामूहिकताको माध्यमबाट सामना गर्न सकिने भएकाले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै काम अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताउँदै उच्च मनोबलका साथ काम गराउन विभिन्न काउन्सिलका पदाधिकारीलाई निर्देशन पनि दिनुभयो ।

कोराना उपचारका लागि तयार गरिएका अस्पतालको तयारीका बारेमा अनुगमन टोलीका तर्फबाट नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले अवस्थाका बारेमा बताउनुभएको थियो । टोलीले कोराना उपचारको तयारीबारे विभिन्न छवटा अस्पतालको अनुगमन गरेको थियो । सोमा त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल र भक्तपुर अस्पताल रहेका छन् । अनुगमनमा छवटै अस्पताल कोरानाको उपचारका लागि पूर्णरुपमा तयार भएका पाइएको थियो ।

प्रकाशित मिति : April 6, 2020 at 5:52 pm