कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा छौं, नागरिकलाई जसरी पनि बचाउँछौं : मन्त्री मानन्धर
१४ चैत, काठमाडाैँ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सबै प्रवन्ध मिलाएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । नागरिकको जिवन रक्षाका लागि सरकारले अथक मेहनत गरिरहेको बताउँदै मन्त्री मानन्धरले लकडाउनको पुर्ण पालना गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।
सामान्य हेलचक्राईंले विपद् आउनसक्ने भन्दै सतर्क रहनु नै उत्तम उपय भएको भन्दै मन्त्री मानन्धरले सहरी क्षेत्रका बासीन्दालाई विश्ष सतर्कता अपनाउन आग्रह गरे । कोरोना भाइसर नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य मन्त्रालयले गरिरहेको तयारीमा सहयोग गर्नका लागि सहरी विकास मन्त्रालयले सात सदस्यीय समिति गठन गरेको जानकारी गराउँदै मन्त्री मानन्धरले क्वारेन्टाइन स्थलको अभाव हुन नदिने बताए।

मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा क्वारेन्टाइनका लागि तयारी गरिएका स्थलहरुको अभाव हुने अवस्था आए तत्काल नयाँ क्वारेन्टाइन स्थल निर्माणका लागि सहरी विकास मन्त्रालय तयारी अवस्थामा रहेको पनि बताए । मन्त्रालयमा सचिवसहित उच्च अधिकारीहरुसँग आफु निरन्तर छलफलमा रहेको बताउँदै मन्त्री मानन्धरले मन्त्रालयका तर्फबाट गर्नुपर्ने सबै काम तयारी अवस्थामा रहेको बताए ।
काठमाडौंमा खुला स्थानका रुपमा चक्रपथ सहित फराकिला सडकका किनारामा अस्थायी शौचालयसहितको अस्थायी क्वारेन्टाइन बनाउन सकिने मन्त्री मानन्धरको तर्क छ । मन्त्री मानन्धरले काठमाडौं महानगरले किटनाशक औषधि छर्कने काम थालेको बताउँदै भित्री सहरमा पनि उक्त व्यवस्था मिलाईने बताए । मन्त्री मानन्धरले आ-आफ्नो नगरपालिका र वडा कार्यालयमा क्वारेन्टाइन निर्माण र व्यवस्थापनलाई तिब्र पार्न देशभरका नगरपालिकाहरुलाई आग्रह समेत गरेका छन् ।
ठुला नदीका किनारका फराकिला स्थान र बजारहरुका खाली स्थानलाई पनि थप क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने मन्त्री मानन्धरको तर्क छ । समय अभावका कारण अध्ययन गर्न नपाएकाहरुलाई मन्त्री मानन्धरले धार्मीक ग्रन्थहरु र ज्ञानवर्दक पुस्तक अध्ययन गर्न आग्रह समेत गरेका छन् । बेद,पुराण, रामायण, महाभारत लगायतका हिन्दु ग्रन्थहरुमा व्याख्या गरिएका विषय वर्तमान अवस्थामा जीवनोपयोगि देखिएको भन्दै मन्त्री मानन्धरले घरमा बसेका नेपाली युवालाई ति पुस्तक अध्ययन गर्न सुझाव समेत दिएका छन् ।
उनले त्रिपिटक, कुरान, बाइबल लगायत विभिन्न धर्मका ग्रन्थहरुको समेत अध्ययन गर्न सुझाव दिएका छन् । अनुष्ठान र योगाभ्यासले शरिरलाई तन्दुरुस्त राख्ने भएकाले ध्यान दिन पनि मन्त्री मानन्धरको सझाव छ । मन्त्री मानन्धरले बालबालिकालाई योग, ध्यान र संस्कारका बारेमा व्यावहारीक ज्ञान दिलाउने अवसरका रुपमा लिन पनि अभिभावकलाई आग्रह गरेका छन् । कामकाजी मानिसहरुमा विभिन्न खाले रोगका कारण समस्या आएकाले लकडाउनका बेला घरमै बसेर खेल्न सकिने खेलहरु खेल्न र बालबालिकालाई पनि सिकाउन आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति : 10:57









