१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

‘कोभिड–१९’ संक्रमण रोक्न काठमाडाैँ महानगरपालिकाको १० करोडको ‘आकस्मिक कोष’ स्थापना

६ चैत, काठमाडाैँ । विश्वभर महामारीको रुपमा फैलिएको ‘कोभिड–१९’ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रु १० करोडको ‘आकस्मिक कोष’ स्थापना गर्ने भएको छ । आज बसेको विशेष कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त कोषबाट भाइरस रोकथाम तथा नियन्त्रणका लागि तत्काललाई साना, मझौला र ठूला वडामा क्रमशः रु दुई लाख, रु तीन लाख र रु चार लाखका दरले निकाशा पठाउने निर्णय गरेको जानकारी दिनुभयो ।

“कोरना भाइरस रोकथाम तथा नियन्त्रण एवं डेङ्गु रोग नियन्त्रणका लागि नेपाली तथा नेपाल भाषामा पर्चा, पम्पेल्ट, ब्यानरजस्ता प्रचार सामग्री निर्माण एवं वितरण गर्ने निर्णय पनि भएको छ”, प्रमुख शाक्यले भन्नुभयो, “विभिन्न स्थानमा स्वास्थ्यजनशक्ति, स्वास्थ्य सामग्री, प्रचार सामग्रीसहितको हेल्प डेक्स स्थापना तथा सञ्चालन गरिनेछ भने महागरपालिकास्थित मठ, मन्दिर, मस्जिद, गुम्बाजस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भीडभाड नगर्न सर्वसाधारणलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।”

कारोना रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्य प्रभावकारी ढङ्गले सञ्चालन गर्न कामपा जनस्वास्थ्य महाशाखाअन्तर्गत ‘फोकल प्वाइन्ट’को रुपमा २४ सै घण्टा हेल्फ डेक्स सञ्चालन गर्ने पनि जानकारी दिनुभयो । स्तरीय विपद् व्यवस्थापन समितिलाई क्रियाशील बनाउनेजस्ता निर्णय पनि बैठकले गरेको छ । सङ्घीय सरकारले गरेको निर्णय कार्यान्वयन गर्न÷गराउन सम्बन्धित विभाग÷महाशाखा÷शाखालाई निर्देशन गर्ने, उपप्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिलाई कालोबजारी नियन्त्रणका लागि प्रभावकारी ढङ्गले परिचालन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : 21:19