१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

कोरोना सतर्कताबारे उपप्रधानमन्त्री पोखरेल र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच छलफल

३० फागुन, काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री एवं नेपाल सरकारबाट गठित कोरोना रोग नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग सं‌युक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्ड र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि जोस भेन्डेलेरले भेटवार्ता गरेका छन ।

शुक्रबार दिउँसो रक्षा मन्त्रलयमा भएको भेटमा राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले उपप्रधानमन्त्री पोखरेललाई कोरोना भाइरसको बारेमा विभिन्न देशमा घटेका घटनाहरूको सम्बन्धमा तयार गरिएको अध्ययन प्रतिवेदन तथा कोरोना भाइरसको नियन्त्रणको लागि चाल्नुपर्ने आगामी कार्ययोजनाको बारेमा बनेको दस्तावेज हस्तान्तरण गरे ।

दस्तावेज हस्तान्तरणसँगै दुबै प्रतिनिधिले कोरोना भाइरसको नियन्त्रण सम्बन्धमा नेपालको विद्यमान अवस्था, यस सम्बन्धमा नेपाल सरकारले चालेका कदम तथा सतर्कताका उपायहरू तथा आगामी कार्यदिशाको बारेमा जिज्ञासा राखेकका थिए । प्रनिनिधिहरुको जिज्ञासाका बारेमा जवाफ दिँदै उपप्रधानमन्त्री पोखरेलले कोरोना भाइरसको संक्रमणलाई नेपालमा फैलन नदिन सरकारले उच्च सतर्कता अपनाएको र यस विषयलाई उचित रूपमा व्यवस्थापन गर्न आवश्यक सबै प्रबन्धहरू मिलाइरहेको जानकारी दिएका थिए ।

उनले यस क्रममा राष्ट्रिय स्तरमा सरकारले आफ्नो संयोजकत्वमा विभिन्न मन्त्रालय÷निकायका प्रतिनिधिहरू रहेको उच्चस्तरीय समिति गठन गरेको बताए । उनले सो समितिले यस रोगलाई फैलन नदिन आवश्यक विभिन्न पक्षमा निर्णयहरू गरी कार्यान्वयनमा ल्याइरहेको र त्यसको सघन अनुगमन पनि गरिरहेको बताए ।

उपप्रधानमन्त्री पोखरेलले कोरोना भाइरसलाई नियन्त्रण गर्ने क्रममा विभिन्न सञ्चारमाध्यम मार्फत सघन रूपमा जनचेतना फैलाउने, क्वारेन्टाइनलाई व्यवस्थित गर्ने कार्य गरिनुका साथै सरकारले केही जोखिमपूर्ण उडानहरूलाई बन्द गर्ने, खुला सिमानालाई पारस्परिक समन्वयमा नियमन गर्ने, सामाजिक भेला, समारोह आदि आयोजना नगर्ने निर्णय गरेको स्मरण गराए । उनले विद्यालय, कलेज, सिनेमा हल लगायतका सार्वजनिक स्थलहरूलाई उच्च अनुगमनमा राख्ने कार्य भइरहेको पनि बताए ।

उपप्रधानमन्त्री पोखरेलले कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन नेपाल सरकारको तर्फबाट आवश्यक सबै उपायहरू अवलम्बन गरिरहेको भए तापनि सरकारको सीमित स्रोत साधनका कारण यसलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न छिमेकी मुलुकहरूका साथै संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संगठन आदि अन्तर्राष्ट्रिय संस्थाको सहयोगको अपेक्षा गरिएको बताए ।

नेपालका विभिन्न अस्पतालहरूमा कोरोना संक्रमणको उचित उपचार हुने गरी अस्पतालको स्तरोन्नति गर्न सरकारले आवश्यक प्रबन्ध मिलाइरहेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघबाट तयार गरिएको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्ययोजनालाई नेपालले सन्दर्भसामग्रीका रूपमा आफ्नो राष्ट्रिय कार्ययोजनामा समावेश गर्दै अघि बढ्ने बताए ।

प्रकाशित मिति : 22:04