कारागार र पशु स्वास्थ्य विधेयक समितिमा पेश
२९ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘कारागार विधेयक, २०७६’ र कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले प्रस्तुत गरेको ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको हो ।

यसैगरी बैठकले अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकले ‘अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि अनुमोदन गरेको छ । गृहमन्त्री थापाले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो ।
प्रकाशित मिति : 14:50









