चीनका लागि प्रस्तावित राजदूत महेन्द्र पाण्डेको संसदीय सुनुवाइको प्रक्रिया सुरू, उजुरी आह्वान
२८ फागुन, काठमाडाैँ । सरकारले चीनका लागि राजदूतमा प्रस्तावित गरेका पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नियुक्तिका लागि संसदीय सुनुवाइको प्रक्रिया सुरू भएको छ । संसदीय सुनुवाई विशेष समितिको बुधबार बसेको बैठकले पाण्डेविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । समितिले १० दिन भित्र उजुरी दिन सकिने जनाएको छ ।

बैठकपछि समितिका सभापति लक्ष्मण लाल कर्णले भने, ‘सरकारले चीनका लागि आवसीय र उत्तर कोरिया तथा मलेसियाका लागि गैरआवासीयको रुपमा महेन्द्र बहादुर पाण्डेलाई राजदूत सिफारिस गरेको रहेछ । आज हामीले उहाँको बायोडाटा हेर्यौँ। उहाँको नाम आएपछि उहाँको बारेमा के गुनासो छ सर्वसाधारण बाट उजुरी माग गरेका छौ ।’
फागुन १८ मा बसेको मन्त्रिपरिषद बैठकले चीनका राजदूत लिलामणी पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । पाण्डे चीनका लागि राजदूतमा सिफारिस भएको यो दोस्रो पटक हो । यसअघि कांग्रेस समर्थित प्रचण्डको सरकारले पाण्डेलाइ राजदूत हुनबाट रोकेको थियो ।
यो पनि पढ्नुहोस्
-सरकारले लीलामणि पौडेललाई चीनबाट फिर्ता बोलायो, नुवाकोटका महेन्द्र पाण्डे राजदूतमा सिफारिस
प्रकाशित मिति : 12:48









