महिलाहरुकै साहस, त्याग र बलिदानीले संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भयोः अध्यक्ष प्रचण्ड
२५ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात ८ मार्चको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
दिवसका सन्दर्भमा एउटा सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभएको छ ‘आज विश्वभरका महिला दिदीबहिनीहरु मात्र नभई मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो । महिलाहरुको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक विकासका लागि आवाज बुलन्द गरिएको संघर्षको दिन हो ।’

उहाँले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको उल्लेख गर्दै महिलाहरुको त्यो साहस, त्याग र बलिदानीले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको बताउनु भएको छ ।
अध्यक्ष प्रचण्डले वर्तमान संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएकोमा खुसी व्यक्त गर्दै संवैधानिक, कानूनी र व्यवहारिकरुपमा प्राप्त अधिकारको पूर्ण कार्यान्वयन तथा थप अधिकारका लागि एक भएर लाग्ने सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

प्रकाशित मिति : 09:21









