२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

चार महिनापछि खुल्यो कांग्रेस कार्यालयको ताला

२८ वैशाख, धनुकुटा । प्रदेशको राजधानीलगायत विभिन्न माग गर्दै नेपाली काँग्रेस धनकुटाको पार्टी कार्यालयमा चार महिनाअघि लगाएइको ताला बिहीबार खोलिएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेस पार्टी कार्यालयमा चार महिनाअघि लगाइएको ताला खोलेर नेता तथा कार्यकर्ताले दिएको राजीनामा फिर्ता गर्न आग्रह गर्नुभएको थियो । पार्टी सरकारमा हुँदा प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा नबनाइएको, पार्टी केन्द्रीय समिति एवं भ्रातृ संगठनमा धनकुटाबाट प्रतिनिधित्व नभएको एवं स्थानीय एवं संसद्को चुनावमा जिल्लाबाट गरिएको सिफारिश लत्याएर केन्द्रीय समितिले छुट्टै निर्णय गरी जिल्लाका नेतृत्वको अपहेला गरेको जनाउँदै चार महिनाअघि जिल्ला समितिका पदाधिकारी तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारीले साधारण सदस्य नरहने गरी राजीनामा गर्र्दै पार्टी कार्यालयमा काँग्रेसको झण्डा हटाएर कालो झण्डा राखेका थिए ।

पार्टी प्रवक्ता शर्माले पार्टी कार्यालयमा ताला खोलेर जिल्ला समितिका पदाधिकारीलाई जनताको काम गर्न आग्रह गर्दै केन्द्रीय समितिले उचित मूल्यांकन गर्ने आश्वासन दिनुभएको थियो । कार्यक्रममा प्रवक्ता शर्माले वर्तमान सरकारले राष्ट्रियताको खोक्रो नारा लगाएर मुलुक सञ्चालन गर्न कठिनाइ भएको नाटक गर्दै गरेको तथा अघिल्लो सरकारले गरेको भूकम्पपीडित सहयोग रकम नदिने एवं सर्वसाधारणको स्वास्थ्य सुविधाको रकमजस्ता निर्णय कार्यान्वयनमा बेवाता गरेको आरोप लगाउनुभयो ।

प्रकाशित मिति : May 11, 2018 at 6:49 am