पेचिलो बन्दै सदनको गतिरोध
२७ माघ, काठमाडौं । ललिता निवास जग्गा प्रकरणलाई लिएर सुरु भएको प्रतिनिधिसभा अवरोधको शृङ्खला पेचिलो बनेको छ । निरन्तर सदन अवरुद्ध भइरहे पनि गतिरोध अन्त्यका लागि राजनीतिक दलबीच पहल भएको छैन । विपक्षी दलले लगातार तेस्रो दिन संसद् अवरोध गर्दा बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
नेपाली कांग्रेसले ललिता निवास प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छदारलाई पक्षपातपूर्ण रूपमा मुद्दा चलाएको भन्दै गत बिहीबारदेखि सदन अवरुद्ध गर्दै आएको छ । लगातार बैठक अवरुद्ध गरिरहे पनि सदन खुलाउनेबारे परामर्श भएको छैन । कांग्रेसले सदन अवरुद्धको अवस्थामा आन्तरिक छलफलका लागि सोमबार पार्टीको बैठक बोलाएको खबर गोरखापत्र दैनिकमा छ ।
सदन अवरोधका अवस्थालाई सत्तापक्ष र प्रतिपक्षले आफू अनुकूल व्याख्या गरेका छन् । सत्तापक्षले विपक्षी दलले अदालतमा विचाराधीन विषय उठान गरेको र सरकारसँग कुनै मागसमेत नराखेको बताउँदै आएको छ । सरकारसँग कुनै माग नराखेको अवस्थामा कसरी सहजीकरण गर्ने भन्ने निक्र्योल नभएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँछन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद दिलेन्द्र बडु संविधानको मर्म उल्लङ्घन भएको अवस्थामा विरोध गर्ने थलो संसद् नै भएको बताउँछन् । सदनमा छलफल गरेर टुङ्गिने विषयसमेत नरहेको बडु स्वीकार गर्छन् ।
सांसद बडुले कसरी व्यक्तिपिच्छे फरक-फरक कानुन भयो ? हामी यो विषयमा बोलिरहेका छौँ, यो विषय बोल्ने थलो संसद् हो, संविधानले गरेको व्यवस्था कार्यान्वयन नभएको विषय संसद्मा नउठाए कहाँ उठाउने भन्ने प्रश्न गरे ।

बोल्न दिइएन
आइतबार पनि प्रतिनिधिसभाको सुरुवातमै काँग्रेस सांसदहरूले उठेर विरोध गरेका थिए । तर अवरोधका अवस्थामा सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेसका कुनै पनि सदस्यलाई बोल्नका लागि समय दिएनन् । सभामुख सापकोटाले कांग्रेस सदस्यहरूलाई संविधानको धारा १०५ को व्यवस्थाबारे स्मरण गराए ।
संविधानको धारा १०५ अनुसार अदालतमा विचाराधीन विषयमा छलफल गर्न पाइँदैन । ललिता निवास प्रकरणमा अदालतमा मुद्दा विचाराधीन रहेकाले उक्त तथ्य स्मरण गराइएको हो । सभामुख सापकोटाले सदनमा अवरोधको अवस्था आउँदा जनताका विषय विषयान्तर भएको पनि बताए । अवरोधको अवस्था जारी रहेपछि सापकोटाले बैठक मंगलबारसम्म स्थगित गरे । सोमबार कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठकमा अवरोधलगायत समसामयिक विषयमा छलफलसमेत गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति : 06:49







