नेकपाको एमसीसी कार्यदल बैठक : तथ्यका आधारमा सत्य पत्ता लगाउछाैं- संयोजक खनाल
२४ माघ, काठमाडौँ । एमसीसीको बारेमा अध्ययन गरेर सुझाव दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीले गठन गरेको कार्यदलको बैठक नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठक भर्खरै सकिएको छ । दिउँसो ४ देखि ६ बजेसम्म चलेको बैठकमा कार्यदलका संयोजक पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टी स्थायी कमिटीका सदस्य एवं पूर्व उपप्रधानमन्त्री भिमबहादुर रावल र पार्टी स्थायी कमिटीका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी रहेका थिए ।

केन्द्रीय कमिटी बैठकले दिएको कार्यादेशका आधारमा अध्ययन गर्ने, सामग्री जुटाउने र विश्लेषणको प्रक्रिया थालनी गरेको बैठकपछि कार्यदलका संयोजक खनालले जानकारी दिए । उनले भने,“हामीहरु कुनै आवेग वा आक्रोश, सेन्टिमेन्ट आदिका आधारमा अघि बढ्दैनौँ हामी तथ्यका आधारमा सत्य पत्ता लगाउने प्रक्रियामार्फत अघि बढ्छौँ । कार्यदेशअनुसार १० दिनभित्र सक्ने अपेक्षा रहेको बताउँदै संयोजक खनालले त्यो समयसीमाभित्र सकिएन भने पार्टीसँग कुरा गर्ने बताए ।
यसअघि माघ २० गते सोमबार कार्यदलको पहिलो बैठक बसेको थियो । उक्त बैठकमा एमसीसीका बारेमा अध्ययन गरेर धारणा बनाउने र पार्टीलाइ सुझाव दिने विषयमा छलफल भएको थियो । एमसीसीको बारेमा सुझाव दिने कार्यदलको सदस्यमा रहेका रावल र ज्ञवालीले परस्पर बिरोधी धारणा दिएका छन ।
ज्ञवाली कुनै पनि हालतमा एमसीसी पास गर्न्रपर्ने र रावल संशोधनविना एमसीसी अनुमोदन गर्दा राष्ट्रघात हुने तर्कमा अडिग रहेका छन । यद्यपी कार्यदलका संयोजक खनालले भने विगतमा जसले जे भनेको भए पनि त्यो निजी धारणा रहेको र कार्यदलले बिना आग्रह पूर्वाग्रह दस्ताबेज अध्धयन गरेर पार्टीलाइ सुझाव दिने बताउँदै आएका छन ।
प्रकाशित मिति : 18:49









