चिनियाँको विकल्प खोज्दै सरकार
२३ माघ, काठमाडौं । छिमेकी चीनमा फैलिएको कोरोना भाइरस संक्रमणले पर्यटक आगमनमा असर पर्ने देखिएको छ । नेपाल भ्रमण २०२० मा चीनबाट पाँच लाख पर्यटक ल्याउने तयारी सरकारको छ ।

कोरोना भाइरस संक्रमणका कारण लक्ष्यबमोजिम चिनियाँ पर्यटक आउन नसक्ने भएपछि सरकार अन्य विकल्पको खोजीमा लागेको छ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कोरोना भाइरसको असर नेपालको पर्यटनमा देखिएको बताए । मन्त्री भट्टराईले बुधबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा मन्त्रालयले चिनियाँ पर्यटकको विकल्प खोजिरहेको जानकारी दिए ।
‘कोरोना भाइरसले हाम्रो पर्यटनमा सबैभन्दा बढी असर पुर्याएको छ । चीनबाट गत वर्ष तीन लाख पर्यटक आएका थिए । यही आधारमा पर्यटक बढ्ने अपेक्षा थियो’, उनले भने, ‘अब त्यसको वैकल्पिक मार्केट खोज्न थालेका छौं । विदेशमा कसरी राम्रो सन्देश दिने भनेर काम गरिरहेका छौं ।’
चीनको विकल्पमा पर्यटक भित्र्याउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका सीईओ र पर्यटन विभागका महानिर्देशकलाई फोकल पर्सन तोकिएको मन्त्री भट्टराईले बताए ।
‘नेपाल कोरोना भाइरसको फ्री जोन हो । भोलिका दिनमा के हुन्छ भन्न सकिन्न । तर आजका दिनसम्म हामीसँग एकजना पनि कोरोनाको बिरामी छैन । यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न जरुरी छ’, उनले भने, ‘चिनियाँ राजदूतले समेत कोरोनालाई नियन्त्रण गरेर पुरानै अवस्थामा फर्किन्छौं भन्नुभएको छ ।’
चीनबाहेक अन्य देशबाट नेपाल आउने पर्यटकमा समेत कोरोना भाइसरको त्रासका फैलिएको छ । विदेशी पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिन सके मात्र नेपाल भ्रमण वर्षको लक्ष्य पूरा हुने सुझाव सांसदहरूले दिएको खबर अन्नपूर्ण पोस्टमा छ ।
पूर्वप्रधानमन्त्री एवं सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पर्यटकलाई कोरोना भाइसरको त्रासबाट मुक्त गराउन सकेमात्र भ्रमण वर्षको लक्ष्य पूरा हुने बताए । ‘म कुनै देश जानुअघि त्यहाँ कोरोना भाइरसबाट बच्ने सुरक्षा कस्तो छ भनेर हेर्छु । स्वास्थ्य परीक्षण गरिरहेको छ कि छैन ? हेल्थ डेक्स राखेको छ कि छैन भनेर हेर्छु’, उनले भने, ‘होइन भने मलाई पनि डर लाग्छ । त्यसैले सबैभन्दा पहिले पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिनुपर्छ ।’
प्रमुख प्रतिपक्षी कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले कोरोना भाइरस रोकथाममा नेपालले यस्तै लापरबाही गरिरह्यो भने अवस्था जटिल हुन सक्ने बताए । कोरोनाले देशकै अर्थतन्त्रमा असर गर्ने उनको भनाइ छ ।
प्रकाशित मिति : 07:02







