रानाथारूले पाए अलग पहिचान
२३ माघ, काठमाडौं । दुई दशक लामो सङ्घर्षपछि राना थारुहरुले अलग्गै आदिवासी जनजातिका रुपमा पहिचान पाएका छन् । नेपाल सरकारको यही माघ २० गतेको मन्त्रिपरिषद्को बैठकले राना थारु समुदायको माग र विज्ञको सुझावका आधारमा अलग पहिचान दिएको हो ।
२०५६ मा तत्कालीन सरकारले आदिवासी जनजाति सूचीकृत गर्दा आफूहरु छुटेको भन्दै सो समुदाय निरन्तर आन्दोलित थियो । कैलाली र कञ्चनपुरमा गरी कूल करीब साढे तीन लाख रानाथारुको बसोबास छ । हालसम्म सो समुदायलाई थारु जनजातिको समग्र पहिचानमा समावेश गरिएको थियो । विसं २०६८ को राष्ट्रिय जनगणनामा रानाथारुसहित गणना गर्दा हाल थारु समुदाय कूल १७ लाख ३७ हजार ४७० (जनसङ्ख्याको ६ दशमलव ६ प्रतिशत) मानिएको छ ।

कैलाली क्षेत्र ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रतिनिधिसभाका सदस्य नारदमुनि रानाले सरकारले उक्त निर्णय गरेकामा आफूहरु उत्साहित भएको भन्दै अब आफूहरको पहिचानसँगै थप अधिकार प्राप्तिको आधार खुलेको बताए । सङ्घीय संसद्मा रानाथारुबाट राना एकमात्र सदस्य छन् ।
सांसद् रानाले भने, “हामीलाई लामो समयसम्म राज्यले चिनेको थिएन । अहिलेसम्म सरकारले चिनेको थिएन । नेकपा नेतृत्वको सरकारले चिनेको छ । अब हाम्रो भाषा, संस्कृति र अधिकारका लागि आवाज उठाउन सहज भएको छ ।” सो समुदायले सरकारको पछिल्लो निर्णयका स्वागतमा यही माघ २३ गते साँझ कैलाली र कञ्चनपुरका १३४ गाउँमा दीपावलीको तयारी गरेको छ ।
२०६४ मा ओम गुरुङको संयोजकत्वमा गठित आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले रानाथारुसहित १० जातिको अध्ययन गरी सूची परिमार्जनका लागि सुझाव दिए पनि सरकारले हालसम्म यसबारे निर्णय गरेको थिएन । २०४३ मा तत्कालीन राजा वीरेन्द्रले पञ्चायती सरकारका भूमिसुधारमन्त्री लबरु रानालाई नाराथारुको पहिचान दिएपछि रानाबाट रानाथारु भएको थियो । तत्कालीन राजाले मन्त्रिपरिषद्मा रहेका दुई राना मन्त्रीलाई कुन राना भन्ने अन्योल भएकाले लबरुलाई रानाथारु भनी सम्बोधन गरेको बताइन्छ ।
इथ्नोलग डटकमले सन् २००६ मा गरेको अध्ययन गरेअनुसार नेपालमा तीन लाख ३६ हजार रानाथारुको जनसङ्ख्या छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी) को प्रतिवेदन, २०१४ मा सो समुदायको जनसङ्ख्या तीन लाख ६० हजार रहेको जनाइएको थियो । रानाथारुका भाषाविज्ञ कमलसिंह रानाथारुका अनुसार पाठ्यक्रम विकास केन्द्रले उक्त भाषाको कक्षा १ देखि ३ सम्मको मातृभाषाको पाठ्यक्रम तयार गरिसकेको छ । सो भाषामा वर्ण निर्धारणसमेत भइसकेको छ जसमा ६ स्वर र तीस वर्ण छन् । भाषा आयोगले पछिल्लो वार्षिक प्रतिवेदनमा विद्यमान १२३ भाषामा रानाथारुसहित छ भाषा थप गरेको थियो ।
थारु र रानाथारुबीच जन्मदेखि मृत्युसम्मको १० संस्कारमा भिन्नता पाइन्छ । समुदाय सूचीकृत हुनका लागि १० संस्कारमा भिन्नता हुनुपर्ने मान्यता छ । रानाथारु समुदायले बडादसैं मनाउँदैन । उनीहरुको विशेष पर्व फागुपूर्णिमा मानिन्छ । सो पर्व उनीहरुले ३८ दिनसम्म विभिन्न नाचगानसहित मनाउँछन् । सो समुदायले चैत, वैशाख र जेठमा चराइँ पर्व मनाउँछ भने असारमा असाढी र भदौमा तीज मनाउँछ ।
नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले ठूलो सङ्घर्ष र मिहिनेतपछि आफूहरु यस चरणमा आइपुगेको र अब पहिचानयुक्त अधिकारको लडाइँले एक प्रकारको सफलता प्राप्त गरेकाले अब अधिकार र सुविधाका लागि लाग्ने बताए । उनले दुई दशकयताका लगभग सबै प्रधानमन्त्रीसँग समाजले ज्ञापनपत्र बुझाउँदै आएको बताए ।
अध्यक्ष कृपारामले सरकारको निर्णयको स्वागत गर्दै यसले अधिकारलाई पोषित गर्ने सन्दर्भमा बाटो खुलेकाले अब रानाथारुको आयोग वा प्रतिष्ठान बनाएर काम गर्नुपर्ने बताए । उनले आफूहरुको विशेष पर्वमा सार्वजनिक बिदा दिन पनि माग गरे । सरकार र सो समाजबीच २०६९ जेठ १४ मा भएको आठबुँदे सहमतिको पहिलो बुँदामा रानाथारुलाई आदिवासी जनजातिमा अविलम्ब सूचीकृत गर्ने उल्लेख थियो । सरकारका तर्फबाट वार्ता टोलीका संयोजक टोपबहादुर रायमाझी र रानाथारु संयुक्त सङ्घर्ष समितिका तर्फबाट प्यारेलाल रानाले हस्ताक्षर गरेका थिए । –रासस
प्रकाशित मिति : February 6, 2020 at 6:24 am




