८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

सुहाङले राखेका दुई सत्य : जसले केपी ओलीलाई बैठक हल छाड्न बाध्य बनायो

८ असोज, काठमाडाैँ । यतिखेर अरूले चासो नलिए पनि एमालेको वृत्तमा भने केन्द्रीय कमिटी बैठकमा भएका गतिबिधिको चर्चा जारी छ । बुधबार केन्द्रीय कमिटी बैठकमा एउटा युवा नेताले बोल्दै गर्दा पार्टी अध्यक्षले हल नै छाडेर हिँडेको विषय अहिले चर्चामा छ ।

सांसद समेत रहेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङ दार्शनिकका कुरा गर्दै सत्यको कसीमा केपीको आलोचना गर्न थालेपछि उनी उठेर हिँडेका हुन । बैठकमा सहभागी अर्का केन्द्रीय सदस्यका अनुसार ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा जारी केन्द्रीय कमिटी बैठकमा नेम्वाङले दुई सत्य प्रस्तुत गरेका थिए ।

जसमाले पहिलो र दोस्रो सत्य भनेर सुत्रबद्ध गर्दै ओलीको नेतृत्वको वौद्धिक ढंगले आलोचना गरेका थिए । नेम्वाङले बोल्दा बोल्दै ओली जुरूक्क उठेर हलबाट बाहिरिए । ओलीले नचाहदाँ नचाहदै इमालबाट दुई पटक प्रतिनिधिसभा निर्वाजनमा विजयी भैसकेका युवा नेता नेम्वाङ एमालेका लोकप्रिय नेता हुन । वर्तमान केन्द्रीय कमिटीमा जनताको बीचमा सबैभन्दा लोकप्रिय मानिएका नेम्वाङले पार्टी अध्यक्ष नै उठेर हिड्ने गरी राखेको विषय यस्तो छः

अध्यक्ष कमरेड,

पदाधिकारी तथा सबै मेरा अग्रज कमरेडहरु,

सद मार्गको मार्गदर्शक गौतम बुद्धले भन्नु भएको छ, ‘संसारमा तीन कुराहरू लामो समयसम्म लुकाउन सकिँदैनः सूर्य, चन्द्रमा र सत्य ।’ दार्शनिक फ्रेडरिक नित्से भन्नुहुन्छ, ‘कहिलेकाहीँ मानिसहरू सत्य सुन्न चाहँदैनन्, किनभने उनीहरू आफ्नो मीठो भ्रम टुटोस् भन्ने चाहँदैनन् ।’ अब हाम्रो अहिलेको यर्थाथ अर्थात् सत्यको कुरा गरौं ।

पहिलो सत्यः तपाईंहरुले परिर्वतनका लागि कष्टसाध्य असाधरण संघर्ष र योगदान गर्नुभयो, यो इतिहास गौरवपूर्ण छ ।

दोस्रो सत्यः तपाईहरुको त्यो असाधरण संघर्ष र योगदानको इतिहास पुस्तौंसम्म अजम्बरी र बरकरार राख्न, पार्टी आन्दोलन पनि अजम्बरी हुनैपर्छ । हो, आन्दोलनलाई अजम्बरी बनाइराख्न तपाईं हामीले आजको सत्यलाई स्वीकार गर्नुपर्छ ।

महान् क्रान्तीकारी चे गेभाराले भन्नुभएको छ नी, ‘आफ्नो गल्ती र कमजोरी स्वीकार नगर्ने व्यक्ति क्रान्तिकारी हुन सक्दैन । कमजोरी ढाकछोप गर्नु भनेको विचारमा पतन आउनु र क्रान्तिप्रति नै विश्वासघात हुनु हो । सत्यलाई स्वीकार गर्न नसक्नु नै वैचारिक र सांगठनिक विनाश हो ।’

हामी त हाम्रो अग्रजहरुको त्यो गौरवमय इतिहासलाई नयाँ पुस्ता हजारौं बर्षसम्मका दर सन्तानहरुलाई सुनाउँन चहान्छौं, अहिले नै हाम्रो प्रिय झन्डा च्यातियो भने, अग्रजहरुको शालिक ढल्यो भने, त्यो हामी ढले जस्तै हो ।

त्यसैले सत्य स्वीकार गर्नुहोस्,

त्यो सत्य होः हामीले यहाँ भनिरहे जस्तो ‘हाम्रो आन्दोल र पार्टीको अवस्था ठिकठाक छैन ।’ हामीप्रतिको विश्वास र भरोषा टुट्दै गएको छ । ठिक छ भनेर असत्य बोल्नु हुन्न, क्रान्तिकारीहरुले त झुटको सामना गर्दा पनि झुटको सहारा लिनु हुन्न ।

कमरेड माओले भन्नु भएको छ,

‘यदि हामीमा कमी–कमजोरीहरू छन् भने, हामी अरूले त्यो औंल्याइदिँदा डराउनु हुँदैन । जसरी दिनहुँ अनुहार नधुँदा फोहोर जम्छ, त्यसैगरी आत्मसमीक्षा र गल्ती स्वीकार नगर्दा विचारमा पतन आउँछ । गल्ती लुकाउनु भनेको रोग लुकाउनु जस्तै हो, जसले अन्ततः विनाश नै ल्याउँछ ।’ !

यति भन्छु, हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ । कमरेड माओले भने जस्तै गल्ती लुकाउनु भनेको रोग लुकाउनु हो । फेरि भन्छु, तपाईहरुले गर्नुभएको कष्टसाध्य संघर्ष, योगदानको कथा र कम्युनिष्ट आन्दोलनको गौरवमयी कथा धेरै पुस्तासम्म भनीरहन चहान्छौं । सुनाइरहन चहान्छौं । अब पनि हामी पुनगर्ठित भएर नयाँ उचाईमा हिड्न सकेनौं भने त्यो गौरवमय कथा सुन्ने नयाँ पुस्तामा केही हुने छैनन् ।

मेरो अनुरोध छ, की समाज र नयाँ पुस्ताको विश्वास जित्ने नयाँ मार्गचित्र बनाउनुहोस् । हामी त्यहाँ कसरी हिड्ने त्यो भनीदिनुहोस् । की हामी नयाँ पुस्तालाई विश्वास गर्नुहोस्, ‘हामी पार्टी र आन्दोलनलाई सारा बन्धन र षड्यन्त्रबाट बाहिर निकालेर तपाईहरुको गौरवमय इतिहासको कथा समाज, पुस्ता र दुनियाँलाई भन्छौं । त्यो मार्गचित्र र आत्मविश्वास हामी नयाँ पुस्तासँग छ । लाल सलाम !

प्रकाशित मिति : September 24, 2026 at 10:13 am