काठमाडौँको माइतीघरमा रुखको हाँगा भाँचिएर दुई सवारीसाधनमा क्षति
८ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ स्थित माइतीघर मण्डलानजिक अन्नपूर्ण अस्पताल अगाडिको सडकमा रुखको हाँगा भाँचिएर केही समय सवारी आवागमन अवरुद्ध भएको छ।
आज साँझ करिब ५ः४० बजे वर्षा तथा हावाहुरीका कारण रुखको हाँगा भाँचिएर सडकमा खसेपछि सडक अवरुद्ध भएको थियो।
घटनालगत्तै प्रहरी टोली खटिएर कटिङ मेसिनको प्रयोग गरी रुखको हाँगा काटेर सडकबाट पन्छाइएको थियो। हाँगा पन्छाएपछि साँझ ६ बजेतिर सवारी आवागमन पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

रुखको हाँगा खस्दा गुडिरहेको प्रहरी वृत्त बालाजुको बा.प्र.०१ ग ४८४६ नम्बरको प्रिजनर क्यारियर र बा.प्र.०१ ००३४ च ५७९० नम्बरको अर्को गाडीमा क्षति पुगेको छ।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : September 24, 2026 at 8:56 pm




