५२ बैंकका खाताबाट १ अर्बभन्दा बढी हुण्डी कारोबार गरेकाे आरोपमा ज्योति शाही पक्राउ
८ असाेज, काठमाडौं । हुण्डीमार्फत ठूलो रकम कारोबार गरेको आरोपमा सुनसरीकी ज्योति शाही पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट शाहीले विभिन्न व्यक्तिसँगको मिलेमतोमा १ अर्ब ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शाहीले सुनसरीको इटहरीस्थित घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको ‘शाही मनि ट्रान्सफर’ को नाम प्रयोग गरी विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता खोलेर ती खातामार्फत रकमको कारोबार गर्दै आएकी थिइन्।
अनुसन्धानका क्रममा उक्त मनि ट्रान्सफरको नाममा कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकसहित ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालनमा रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विदेशमा विभिन्न असम्बन्धित व्यक्तिले आर्जन गरेको रकम औपचारिक बैंकिङ प्रणालीबाहिरबाट नेपाल भित्र्याएर स–साना भागमा विभाजन गरी कनेक्ट आइपिएस लगायतका विद्युतीय माध्यमबाट अन्य व्यक्तिका बैंक खातामा पठाउने गरिएको थियो।

यही माध्यमबाट ठूलो परिमाणमा हुण्डी कारोबार भएको देखिएपछि प्रहरीले शाहीमाथि अनुसन्धान अघि बढाएको हो। सीआईबीका अनुसार अनुसन्धानका क्रममा हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा पक्राउ गर्न सुनसरी जिल्ला अदालतबाट असोज ६ गते अनुमति लिइएको थियो।
अदालतको अनुमतिपछि सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले असोज ८ गते अपराह्न करिब ४ः४५ बजे धरान उपमहानगरपालिका–५ खैरेनीबाट शाहीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ स्थायी ठेगाना भएकी ज्योति शाही रहेको प्रहरीले जनाएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : September 24, 2026 at 8:02 pm




