असोज ८ र ९ मा देशभरका विद्यालय बन्द गराउन शिक्षा मन्त्रालयको उर्दी
७ असोज, काठमाडौँ । आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा, हिमपात, हावाहुरी र चट्याङको सम्भावना देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा शैक्षिक संस्थाका लागि सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयले बुधबार शिक्षा विकास तथा समन्वय इकाइहरूलाई पत्राचार गर्दै स्थानीय तहसँग समन्वय गरी विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्न निर्देशन दिएको हो।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्राप्त पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते विभिन्न स्थानमा भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङको सम्भावना रहेको मन्त्रालयले जनाएको छ।

यस्तो मौसमका कारण बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोध हुनसक्ने भन्दै मन्त्रालयले शैक्षिक संस्थाहरूलाई आवश्यक तयारी गर्न आग्रह गरेको छ।
मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले जारी गरेको पत्रमा असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न/गराउन भनिएको छ। त्यस्तै, असोज ९ देखि ११ गतेसम्म सञ्चालनका लागि तोकिएका विश्वविद्यालय तहका परीक्षा पनि आवश्यकताअनुसार स्थगित गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई विपद्को समयमा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा स्थानीय तहलाई आवश्यक सहजीकरण गर्न पनि शिक्षा विकास तथा समन्वय इकाइहरूलाई निर्देशन दिएको छ।
यसैगरी, अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिन मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले सबै शिक्षा संस्था, स्थानीय तह, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाबीच आवश्यक समन्वय र सहजीकरण गरी विपद्को जोखिम न्यूनीकरणमा जुट्नसमेत अनुरोध गरेको छ।

प्रकाशित मिति : September 23, 2026 at 10:17 pm




