१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

ठूला भ्रष्टाचारीविरुद्धको मुद्दा सुनुवाइमा विलम्ब गर्दै सर्वोच्च

२१ माघ, काठमाडौं सर्वोच्च अदालतले ‘हाई प्रोफाइल’ संलग्‍न भ्रष्टाचार मुद्दा सुनुवाइमा विलम्ब गर्दै आएको छ । झन्डै ८ वर्षदेखि सर्वोच्चमा थाती रहेको भ्रष्टाचार मुद्दाको पेसी तोक्ने र स्थगित गर्ने क्रमले निरन्तरता पाइरहेको छ ।

६ फागुन २०६९ मा दर्ता भएको नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा पटक–पटक पेसी तोकेर फाइल मगाउने आदेश मात्रै भएको छ । जोशीको भ्रष्टाचार मुद्दामा ४६औं पटक पेसी तोकेर अन्तिम किनारा लगाउन सुनुवाइ भइरहँदा जोशीका कानुन व्यवसायीले यसअघि आय गणनामा भएको व्याख्याविरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधीन भएकाले सो फैसला नभएसम्म रोक्न माग गरेपछि मुद्दाको पेसी तोक्ने काम रोकिँदै आएको हो । भ्रष्टाचारका मुद्दामा सर्वोच्चले निर्माण गरेको नजिरहरुको एकरुपता नभएको र आयल निगमका पूर्वप्रमुख युवराज शर्माको मुद्दा विचाराधीन रहेकाले सार्नुपर्ने माग जोशीका कानुन व्यवसायीले गरेपछि यो मुद्दा रोकिएको खबर राजधानी दैनिकमा  छ ।

जोशीको मुद्दा पनि शर्माको मुद्दासँगै राख्ने आदेश भएपछि हाल विचाराधीन छ । अख्तियारले विशेष अदालतमा २८ माघ २०६० मा पदीय दुरुपयोग गरी २ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ कमाएको अभियोगसहित १३ वर्ष कैद सजायसहित जरिवाना मागेको थियो ।

सो मुद्दामा ३० कात्तिक २०६३ मा तत्कालीन विशेष अदालतका अध्यक्ष भूपध्वज अधिकारी , कमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले अख्तियारले म्याद गुजारेर आएको भन्दै मुद्दाको तथ्यमा नपुगी जोशीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको थियो । जबरा हाल सर्वोच्चका प्रधानन्याधीश हुन् ।

प्रकाशित मिति : 07:33