१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

आजैका दिनमा पूर्वराजा ज्ञानेन्द्रले यसरी गरेका थिए ‘कू’

१९ माघ, काठमाडौं आज माघ १९ गते, अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएको दिन । अझ आजको दिनलाई ‘कू’ गरेको भनेर आम जनताले बुझ्ने गरेका छन् ।

उसो त ज्ञानेन्द्रले ‘राजनीतिक कू’ गरेको भन्दै आजको दिनलाई ‘कालो दिन’का रुपमा स्मरण गरिँदै छ । ज्ञानेन्द्रले २०६१ माघ १९ का दिन जनताको प्रतिनिधि अर्थात् प्रतिनिधिसभा विघटन गरी शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । त्यसैले पनि आजको दिनलाई राजनीतिक रुपमा ‘कालो दिन’को रुपमा लिने गरिएको हो ।

ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए । दरबार हत्याकाण्डलगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए ।

रेडियोमा समाचार रोक लगाउँदै सञ्चार गृहहरुमा तत्कालीन सरकारले सेना परिचालन गराइएको थियो । शाही कदमपछि जनयुद्ध गरिरहेको तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरु एकजुट भई राजतन्त्रविरुद्ध आन्दोलनमा होमिएका थिए ।

फलस्वरुप ०६२/०६३ को दोस्रो जनआन्दोलनको बलमा राजसंस्था अन्त्य भई मुलुकमा गणतन्त्र स्थापना भएको थियो । जनताको बलिदानीबाट आएको यही गणतन्त्रप्रति जनताको वितृष्णा बढ्दै गएको प्रतित हुन्छ । यसर्थ जनपक्षीय कामतर्फ अग्रसर हुनुपर्ने अहिलेका राजनीतिक दल तथा नेताहरु लाग्नुपर्ने देखिन्छ । पूर्वाधार विकास र जनजीविकामा उल्लेख्य सुधार नहुँदा परिवर्तनकारी शक्तिहरुमाथि नागरिकको आक्रोश भने बढिरहेको पाउन सकिन्छ ।

प्रकाशित मिति : 07:58