नेकपा बैठक : भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने माग, अध्यक्ष र महासचिवले आज जवाफ दिने
२० माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीभित्र भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था हुने गरी कानुन बनाउनुपर्ने माग उठेको छ। जारी केन्द्रीय समितिको बैठकमा देशमा दिनप्रतिदिन भ्रष्टाचार मौलाउँदै गएकाले मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग उठेको आजको नेपाल समाचार पत्र दैनिकमा मधुसुदन रायमाझीले समाचार लेखेका छन ।
बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरू पारदर्शी हुनुपर्ने आवाज उठाएका छन्। समूह नम्बर ५ का टोली नेता ठाकुर गैरेले आफ्नो समूहमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको बताउँदै भने– ‘अहिले मृत्युदण्डको कानुन नभएकाले सरकारले यस्तो कानुन बनाउनुपर्ने माग उठेको छ। भ्रष्टाचार संस्थागतरूपमा अगाडि बढेको छ।
सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्छ। मृत्युदण्डको व्यवस्थाले मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ।’उनीहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), यती होल्डिङ्स प्रालिको जग्गा भाडालगायतका विभिन्न विषयमा गम्भीर छानबिन गर्न आयोग गठन हुनुपर्नेसमेतका माग उठाएका छन्।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधनको प्रस्तावमाथि समूहगत धारणा राख्ने काम सम्पन्न भएको छ । शुक्रबार र शनिबारसम्म १५ समूहका नेताहरूले बैठकमा रिपोर्टिङ पेस गरेका छन्। त्यसक्रममा केन्द्रीय सदस्यहरूले सरकारले प्रभावकारीरूपमा काम गर्न नसकेको, सरकारका मन्त्रीहरू, पार्टीका नेताहरू विभिन्न काण्डमा मुछिन थालेकाले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेजस्ता माग गरेका थिए।
केन्द्रीय सदस्य धर्मशीला चापागाईंले भ्रष्टाचारका कारण राजनीतिप्रति नै सर्वसाधारणको वितृष्णा बढ्न र सार्वजनिक पदमा पुग्नेहरू भ्रष्टाचारमा उद्यत हुन थालेकाले भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गरे । उनले भनिन्– ‘कम्युनिस्टहरूलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुने अवस्था आएको छ, अब नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ।’ समूहगत रिपोर्टिङ गर्ने क्रम सकिएको बताउँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो– ‘आइतबार सचिवालय बैठक बसी एमसीसीदेखि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरूबारे निर्णय लिइन्छ।’अध्यक्षद्वय र महासचिवले आइतबार नै प्रश्नको जवाफ दिएसँगै बैठक सम्पन्न हुनेछ।
प्रकाशित मिति : 07:54









