१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

४७ वर्षपछि औपचारिक रुपमै ईयूबाट बाहिरियो बेलायत

१८ माघ, लन्डन ।  युरोपियन युनियन (ईयू) को सदस्य बनेको ४७ वर्षपछि बेलायत औपचारिक रुपमा बाहिरिएको छ । युरोपेली संघबाट बाहिरिएलगत्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देशमार्फत अब नयाँ बिहानी आउने बताएका छन् ।

‘अब देशलाई एक ढिक्का बनाएर अघि बढाउनु छ,’ भिडियो सन्देशमा उनले भनेको छन्, ‘यो अन्त्य हैन अब सुरुवात हो ।’ बेलायत इयूबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झन्डा तल झारेको छ ।

तीन प्रधानमन्त्री, साढे तीन वर्ष र सन् २०१६ देखि ब्रेक्जिटका विषयमा कैयौंपटक संसदमा भएको मतदानको लामो संघर्षपछि बेलायत ग्रिनवीच समयअनुसार शुक्रबार राति ११ बजे अर्थात् नेपाली समय अनुसार शनिबार बिहान ४:४५ बजे औपचरिक रुपमा बाहिरिएको हो ।

ईयूबाट बाहिरिने बेलायत पहिलो मुलुक हो । बेलायत ईयूबाट अलग भएपछि प्रधानमन्त्री बोरिस जोनसनले “नयाँ युगको सुरुवात” लाई स्वागत गरेका छन् ।

उनले भनेका छन्, “यो धेरै मानिसहरुका लागि आशा र उमंगको एक आश्चर्यको क्षण हो जसको बारेमा उनीहरुले कहिल्यै सोचेका थिएनन् । ‘निश्चित रूपमा एक तेस्रो समूह पनि छ जो सबैभन्दा अधिक चिन्तामा थियो आखिर यो राजनीतिक गतिरोध कहिले सकिन्छ या सकिँदैन भनेर । म सबैको भावनाको कदर गर्छु र मेरो यो खास जिम्मेवारी देशलाई अघि बढाउनु हो ।”

प्रधानमन्त्री जोन्‍सनले ईयूका २७ मुलुकसँगको सम्बन्धलाई “वास्तविक राष्ट्रिय नवीकरण र परिवर्तनको क्षण” का रूपमासमेत व्याख्या गरेका छन् ।

ईयूबाट बेलायत अलग भएपछि देशका विभिन्‍न ठाउँमा स्वागत र्‍याली निकालिएका छन् भने केहीस्थानमा विरोधहरुसमेत भएको छ । बेलायतले ११ महिना संक्रमणकालीन अवधिको सामना गर्नुपर्ने छ । सन् २०२० को डिसेम्बरसम्ममा बेलायतमा केही ईयूका कानुनहरु लागु हुनेछन् । यो विषयमा ईयू र बेलायतबीच यसअघि नै सम्झौता भइसकेको छ ।

सङ्घको सदस्यता त्यागे पनि धेरैजसो कानुन अहिलेकै कायम रहने भएकाले बेलायतमा इयूबाट भएको बहिर्गमनको तत्कालै प्रभाव भने नदेखिने बीबीसीले जनाएको छ । सङ्घबाट अलग हुने कि नहुने भन्नेबारेमा बेलायतमा राजनीतिक खटपट चलिरहेको थियो। यसबारेमा गरिएको जनमत सङ्ग्रहमा बेलायती नागरिकरले सङ्घबाट अलग हुनुपर्ने पक्षमा मतदान गरेका थिए । इयूबाट अलग हुने प्रतिबद्धतामा गएको डिसेम्बर महिनामा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यको बहुमत पाएका थिए । –बीबीसी

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार ०७:३९