एमसीसीका कारण नेकपा फुट्न सक्ने चेतावनी, महाकाली सन्धि दोहोरिन सक्ने भन्दै चिन्ता प्रकट
१७ माघ, काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूमा एमसीसीका कारण पार्टी नै फुट्नेसम्मको डर देखिएको छ । विभिन्न गुटको संयन्त्रमा रहेर विभिन्न छलफल र बहसमा समेत सहभागी भैरहने नेताहरूले नै एमसीसीका कारण पार्टी फुट्न सक्ने चिन्ता प्रकट गरेका हुन । नेकपा भित्रको गुटगत सन्तुलन हेर्दा एमसीसी विषय केन्द्रीय समिति बैठकबाटै अस्वीकृत हुने देखिएको छ । यद्यपी एमसीसीका केही प्रावधान सुधार गरेर पारित गर्नुपर्छ भन्ने प्रस्ताव अघि बढे त्यो सर्वसम्मत नै हुने देखिएको छ ।

एमसीसीकै कारण पार्टी फुट्ने अाशंका गर्दै बैठकमा केही केन्द्रीय सदस्यले चिन्ता समेत प्रकट गरेका छन । बिहीबारको बैठकमा नेकपाका केन्द्रीय सदस्य गंगाला तुलाधरले एमसीसीका कारण पार्टी फुट्नसक्ने भन्दै चिन्ता व्यक्त गरे । तुलाधर नेकपाभित्र एमसीसी जस्ताको त्यस्तै पास गरे राष्ट्रघात हुन्छ भन्ने समूहका नेता हुन । तुलाधरले एमसीसीबारे धारणा स्पष्ट पार्न माग गर्दै पार्टी फुट्ने कारण एमसीसी बन्नसक्ने चिन्ता प्रकट गरेका हुन ।
तुलाधरको यो चिन्तालाइ अर्थपूर्ण रूपमा हेरिएको छ । उनले समूहगत बैठकमा भनेका छन ‘हिजो महाकालीको विषयले पार्टी फुटेको अवस्था छ । अहिले एमसीसीको विषयले पनि नेकपालाई त्यही ठाउँमा लैजान्छ कि भन्ने आशंका भएका छन् । त्यसैले एमसीसी के हो ? भन्ने कुरामा स्पष्ट हुनुनपर्छ भन्ने कुरा आएका छन् ।’ तुलाधरले विज्ञ समूह नै बनाएर एमसीसीका विषयमा राम्ररी अध्ययन गर्नुपर्ने माग समूहगत बैठकमा उठेको समेत बताएका छन । अर्का केन्द्रीय सदस्य सुरेश कुमार राईका अनुसार सबै समूहमा एमसीसीका विषयमा तीन थरी धारणा व्यक्त भएका छन ।
प्रकाशित मिति : 21:44









