१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

२३ बालबालिकालाई बन्धक बनाउने बाथम प्रहरी कारबाहीमा मारिए

१७ माघ, नयाँदिल्ली । भारतको उत्तर प्रदेशको फर्रुखाबाद जिल्लास्थित मोहम्मदाबाद कस्बेमा २३ बालबालिकालाई बन्धक बनाउने सुभाष बाथमको प्रहरी कारबाहीमा मृत्यु भएको छ । कानपुर परिक्षेत्रका प्रहरी महानिरीक्षक मोहित अग्रवालका अनुसार अपहरणकारी सुभाषको प्रहरी मुठभेडमा मृत्यु भएको छ भने सबै २३ बालकलाई उद्धार गरिएको बीबीसीले उल्लेख गरेको छ।

मोहित अग्रवालका अनुसार अपहरणकारीले प्रतिबालक एक करोड रुपैयाँ फिरौती माग गरेका थिए । यसका साथै उनले आफूमाथि लागेको हत्याको आरोप पनि फिर्ता लिनुपर्ने माग राखेका थिए । अघिल्लो रात उनले एक बालकलाई रिहा पनि गरेको बीबीसीले उल्लेख गरेको छ ।

बन्धक बालबालिकालाई मुक्त गराउन एटीएसको कमान्डो बोलाइएको थियो । साथै प्रहरीको थुप्रै अधिकारीहरु पनि घटनास्थलमा परिचालन भएका थिए । मोहम्मदाबाद तहसीलको करसिया गाउँमा जुन घरमा बालकलाई बन्धक बनाइएको थियो त्यो घर बाथमकै थियो ।

प्रहरीका अनुसार बाथम शातिर किस्मका अपराधी थिए । उनी कैयौँपटक जेल पनि परेका थिए । उनीमाथि हत्याको मुद्दा समेत चलिरहेको छ । स्थानीयका अनुसार आफ्नी छोरीको जन्मदिनको बहानामा उनले गाउँका बच्चाहरुलाई घर बोलाएका थिए । त्यसपछि उनीहरुलाई घरमै बन्धक बनाएका थिए ।

फर्रुखाबादका प्रहरी अधिकारी अनिलकुमार मिश्रका अनुसार बच्चालाई सकुशल उद्धार गरिएको छ भने केहि प्रहरी पनि घाइते भएका छन् । प्रहरीलाई देख्ने बित्तिकै सुभाषले फायरिङ सुरु गरेपछि दोहोरो भिडन्त भएको थियो । –बीबीसी

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार ०८:१५