२१ पुष २०८१, आईतवार | Mon Jan 6 2025

तीलगंगा आँखा प्रतिष्ठानलाई १० करोड अनुदान

२५ वैशाख, काठमाडौँ । काठमाण्डौको तीलगंगा आँखा प्रतिष्ठानलाई सरकारले १० करोड अनुदान उपलब्ध गराएको छ ।

‘नेपाल आँखा कार्यक्रम’ले उत्पादन गर्दै आएको मोतियाबिन्दुको शल्यक्रियापछि राखिने इन्ट्रअकुलर लेन्स उत्पादन क्षमता अभिवृद्धि गर्न सो अनुदान उपलब्ध गराएको हो ।

उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रमुख प्राध्यापक डा सन्दुक रुइतलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा मन्त्री यादवले मोतियाबिन्दुको शल्यक्रियापछि राखिने लेन्स उत्पादन गरी विश्वका विभिन्न मुलुकमा निर्यात गरी व्यापार घाटालाई कम गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए ।

मन्त्रालयका वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले लेन्स उत्पादन गरी निर्यात गर्ने क्षमता अभिवृद्धिका लागि अनुदान सहयोग गरेको बताए ।
प्रतिष्ठानका प्रमुख रुइतले मन्त्रालयबाट प्राप्त सहयोगले प्रतिष्ठानको उत्पादन क्षमता अभिवृद्धि गर्ने र निर्यातलाई बढाउने विश्वास दिलाउँदै आगामी दिनमा सरकारबाट सहयोग प्राप्त भइरहने अपेक्षा गरेका छन् ।

प्रतिष्ठानबाट उत्पादन भएका चार प्रकारका लेन्स चार लाखदेखि पाँच लाखसम्म उत्पादन हुँदै आएको छ । उत्पादित लेन्सलाई विश्वको ३५ देशमा निर्यात गर्दै आएको छ भने सबैभन्दा बढी चीन, थाइल्याण्ड र पाकिस्तानबाट माग हुने गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार १७:१७