देउवा जोगाउन सानेपामा कांग्रेस कार्यकर्ताको भिडन्त, कुन्दन काफ्लेको मुखमा चोट (फोटोफिचर)
१३ माघ, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुरक्षाका लागि पार्टी केन्द्रीय कार्यालयमा कार्यकर्ताले कुस्ती खेलेका छन । सोमबार केन्द्रीय समितिको बैठकमा सहभागी हुन जानेक्रममा पार्टी कार्यालय परिसरमा कार्यकर्ताले कुस्ती खेलेका हुन । कुस्ती खेल्ने नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ता हुन ।
नेविसंघमा ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने माग गर्दै ४१ दिनयता रिले अनसनरत समूहलाई सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ताले आक्रमण गरे । बैठकका लागि सभापति देउवा पार्टी कार्यालय प्रवेश गर्नै लाग्दा अनसनरत समूहका कार्यकर्ताले देउवालाई घेर्न लागेपछि देउवा समर्थक कार्यकर्ताले अाक्रमण गरेका थिए ।

देउवानिकट कार्यकर्ताको कुटाइबाट नेविसंघ पूर्वमहामन्त्री कुन्दन राज काफ्ले घाइते भएका छन् । उनको मुखमा चोट लागेको छ । अनसनरत समूहलाई समर्थन गर्दै आएका काफ्लेको मुखमा चोट लागेको छ । प्रत्यक्षदर्शीका अनुसार देउवा समर्थकले पार्टी कार्यालय परिसरमा सजाएर राखिएको गमला अनसनरतमाथि प्रहार गरेका थिए त्यसपछि दुबै पक्षले हानहान गरेका थिए ।

दिउँसो कुस्ती खेलेका विद्यार्थी नेताहरूको बीचमा साँझ फेरि झडप भएको छ । सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ता र नेविसंघभित्र ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने पक्षमा रहेका कार्यकर्ताबीच झडप भएको हो । पछिल्लो झडपमा दर्जन बढी नेविसंघका कार्यकर्ता घाइते भएका छन् । यस्तै झडपका क्रममा बैठकमा सहभागी हुन पुगेका नेताहरुको गाडी समेत तोडफोड भएको छ।

प्रकाशित मिति : 19:17









