३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा छाैँ : प्रचण्ड

१३ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी बैठकको तयारीमा रहेको जानकारी गराउनुभएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी जनजाति महासङ्घ, नेपालको एकता घोषणा तथा शपथ ग्रहण समारोहमा उहाँले बुधबारदेखि हुने पार्टीको केन्द्रीय कमिटी बैठकको तयारीमा आफू रहेको बताउनुभयो । उहाँले पार्टीको कामको चापले त्यति धेरै तयारी गर्न नपाएको समेत बताउनुभयो ।

पार्टीको केन्द्रीय कमिटी बैठक यही माघ १५ देखि २० गतेसम्म डाकिएको छ । उहाँले अझै पनि सबै उत्पीडित वर्ग, जाति, समुदाय, भाषा पूर्णरूपमा मुक्त हुने कुरा बनिनसकेको बताउनुभयो । “उत्पीडित समुदाय पूर्णरूपमा मुक्त हुने वातावरण अझै बनेको छैन”, उहाँले भन्नुभयो, “एकताबद्ध भई शान्तिपूर्ण रूपले संविधान संशोधनको माध्यमबाट हामीले सोचे खोजे जस्तो मुक्ति हासिल गर्न सक्छौँ ।”

 

संविधानले पनि बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक रहेको स्वीकार गरेको उल्लेख गर्दै उहाँले आदिवासी जनजातिको हक अधिकार, परम्परा, संस्कृति र पहिचानलाई स्थापित गर्ने कुरामा संविधानले नै पहल लिएको धारणा राख्नुभयो । उहाँले सबै खालको विभेदको अन्त्य गरी समतामूलक समाजिक न्यायसहित सबैको हकअधिकार स्थापना भएको समाज निर्माण गर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले साम्राज्यवाद र सामन्तवादलाई परास्त गरेर युद्ध जित्न अझै एकताबद्ध भएर सामाजिक न्यायका पक्षमा लड्न आवश्यक रहेको धारणा राख्नुभयो । बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक भएकाले विविधतायुक्त मुलुकमा एकता कायम गर्न सबैलाई समान अधिकार दिनुपर्ने उहाँको भनाइ थियो । शोषण उत्पीडनमा परेका समुदायलाई अगाडि ल्याउने वातावरण नबनाएसम्म समानताको कुरा गर्नु भ्रम मात्र रहेको उहाँको धारणा थियो ।

जातीय कुरा गर्दा पूँजीवादीले जहिले पनि साम्प्रदायिक विध्वंश फैलाउने र जातिजातिबीच लडाइँ शुरु गर्ने षडयन्त्रका रूपमा लिँदै आएको र अन्य मुलुकमा त्यस्ता जातीय द्वन्द्व भएका उल्लेख गर्दै उहाँले कम्युनिष्टले भन्ने गरेको जातीय हकअधिकारको कुरा त्यस्तो नभएको बताउनुभयो । “कम्युनिष्टले अगाडि सार्ने गरेको समाजवादी क्रान्ति र जातीय क्रान्तिको कुरालाई साम्राज्यवादीले जातीय सङ्कीर्णता, साम्प्रदायिकता र विद्वेष फैलाउने षडयन्त्रसँग मिलाउने गरेका छन्”, उहाँले भन्नुभयो, “आदिवासी जनजाति महासङ्घले जातीय हकअधिकारको कुरा साम्प्रादिक होइन समानता र मुक्तिको कुरा हो भनेर बुझाउन आवश्यक छ ।”

कार्यक्रममा नेकपामा महासचिव विष्णु पौडेलले पार्टीले सबै उत्पीडित वर्ग र जातिको हकअधिकार र मुक्तिको आन्दोलन गर्दै आएको बताउनुभयो । उहाँले जातीय हकअधिकार स्थापित गरेर मुलुकमा समृद्धि ल्याउने बताउनुभयो । सो अवसरमा अध्यक्ष दाहालले नवगठित कार्यसमितिलाई शपथ खुवाउनुभएको थियो । तत्कालीन नेकपा (एमाले) को नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र नेकपा (माओवादी केन्द्र) आदिवासी जनजाति राष्ट्रिय महासङ्घबीच एकता भई २६१ सदस्यीय आदिवासी जनजाति महासङ्घ नेपाल बनेको हो ।

प्रकाशित मिति : January 27, 2020 at 4:09 pm