नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज, असन्तुष्ट पाैडेल समूह पनि सहभागी हुने
१३ माघ, काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । आजको बैठकमा संस्थापन पक्षको शैलीबाट असन्तुष्ट बनेर यसअघिको बैठक बहिस्कार गर्ने वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहले पनि सहभागिता जनाउने भएको छ । पार्टीको १४औँ महाधिवेशनको मिति तय गर्ने, विभाग गठन गर्ने, विधान निलम्बन गर्ने, भ्रातृ सङ्गठनको अवधि थप र नेतृत्व चयनका विषयमा संस्थापन पक्षसँग मतभिन्नता बढेपछि मङ्सिर २६ गतेको कार्यसमिति बैठक पौडेल समूहले बहिष्कार गरेको थियो ।

पौडेल समूहसँग भएको सहमति कार्यान्वयन गर्नका लागि गृहकार्य भइरहेको र नमिलेका विषयमा बैठकमै छलफल गर्ने भएपछि सोमबारको बैठकमा सबै पक्षसहभागी हुने कांग्रेसका एक नेताले बताए । शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकमा सहमति खाका तयार भएपछि त्यसलाई लिपिबद्ध गर्न महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय डा. मीनेन्द्र रिजाल र रमेश लेखक दुई दिनयता क्रियाशिल रहेका छन ।
प्रकाशित मिति : 09:07









