३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

हनुमन्ते सफाइ अभियान नयाँ रूपमा अघि बढाउने सांसद बस्नेतको घोषणा

११ माघ, काठमाडाैँ । पूर्वउद्योगमन्त्री एवं नेकपाका प्रभावशाली युवा नेता तथा सांसद महेश बस्नेतले देशमै नमूना बनेको हनुमन्ते सफाइ अभियानलाई नयाँ रूपमा सञ्चालनमा गर्ने जानकारी दिएका छन । हनुमन्ते सफाइ अभियानको १०० हप्ता पूरा भएका अवसरमा विशेष कार्यक्रममा नेता बस्नेतले हनुमन्ते करिडोर निर्माणमा जग्गा धनी कसैलाई पनि नोक्सान नपर्ने गरी हनुमन्ते जग्गा एकीकरणमार्फत सबैलाई क्षतिपूर्ति दिइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा वाग्मती प्रदेश सदस्य रजनी जोन्छे, भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, नेकपाका जिल्ला अध्यक्ष वचन देउजा, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, गैसस भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं, पहलमान श्रेष्ठ लगायतका अभियन्ताले हनुमन्ते सफाइ अभियानसँगै मनको सफाइ पनि गर्ने बेला आएको बताउनुभयो ।

हनुमन्ते सफाइ अभियानका उत्प्रेरक रुद्र पौडेलले अब नयाँस्वरुपमा सफाइ अभियान शुरु हुने बताउँदै अभियान निरन्तर जारी रहने भनाइ राख्नुभयो । अभियानमा ९५ हजार जनाभन्दा बढी र २५० भन्दाबढी सामाजिक सङ्घसंस्थाको सहभागिता रहेको अभियानमा १६०० टन फोहर सङ्कलन भएको कार्यक्रममा जानकारी दिइयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले हनुमन्ते नदी र सडकलगायतका क्षेत्रमा फोहर गर्नेलाई नगरपालिकाले जरिवानासहित कारवाही गरिने बताउनुभयो ।  ‘उठौँ, जागौँ, हनुमन्ते नदी सफाइमा सबै लागौँ’ भन्ने मूल नाराका साथ सरकारको लगानीबिना नै २०७४ फागुन १९ गते आज तत्कालीन जनसङ्ख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित र हनुमन्ते सफाइ अभियानका अगुवाइ गर्ने सांसद बस्नेतले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हनुमन्ते सफाइ अभियानले १०० हप्ता पूरा गरेको छ ।

प्रकाशित मिति : January 25, 2020 at 6:53 pm