३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

भ्रष्टाचार अनुसन्धानमा हदम्यादको प्रस्ताव

१० माघ, काठमाडौं । सरकारले भ्रष्टाचारजन्य कसुर अनुसन्धानमा पनि हद म्यादको व्यवस्था प्रस्ताव गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विधेयक राष्ट्रिय सभा विधेयक शाखामा दर्ता गरेको छ ।

विधेयकमा हदम्याद पाँच वर्ष प्रस्ताव गरिएको छ तर सरकारी तथा सार्वजनिक सम्पत्ति हिनामिनाका कसुरमा भने हदम्याद नलाग्ने प्रस्ताव विधेयकमा छ । विधेयकले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई अवकाश पछिको पाँच वर्षसम्म मुद्दा चलाउन सक्ने व्यवस्था प्रस्ताव गरेको छ ।

प्रस्तावित विधेयकले कुनै विकास परियोजनामा अनियमित कार्य भएको आशंका लागे काम रोकी अनुसन्धान अगाडि बढाउन सक्ने अधिकार अख्तियारलाई दिने प्रस्ताव पनि गरेको छ ।

‘भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ’, मूल ऐनको दफा २९ संशोधन प्रस्तावमा भनिएको छ, ‘सरकारी, सामुदायिक वा सार्वजनिक सम्पत्ति वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा सार्वजनिक संस्थाको स्वामित्व वा नियन्त्रणमा रहेको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेकोमा मुद्दा चलाउन त्यस्तो हदम्याद कायम रहनेछैन ।’

प्रस्तावित विधेयक अनुसार हाल अनुसन्धानका सिलसिलामा रहेका उजुरी पनि ऐन प्रारम्भ भएको पाँच वर्षभित्र मुद्दा चलाइसक्नुपर्नेछ । अन्यथा हदम्यादको प्रश्न बन्न सक्नेछ ।

प्रकाशित मिति : January 24, 2020 at 6:40 am