१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामाविरूद्ध पक्राउ पुर्जी जारी

९ माघ, काठमाडाैँ । नुवाकोटका कांग्रेस सांसद बहादुरसिंह लामासहित चारजनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । सामुदायिक वनभित्र नदीजन्य पदार्थको अवैध उत्खनन गरेपछि प्रतिनिधिसभाका सदस्य बहादुरसिंह लामासहित चारविरुद्ध डिभिजन वन कार्यालय मकवानपुरले पक्राउ पुर्जी जारी गरेको अाजको अन्नपूर्ण पोस्टले समाचार लेखेको छ ।

पूर्वी मकवानपुरको बकैया ७ स्थित कालीवन सामुदायिक वन क्षेत्रभित्र अवैध ढुंगागिटी र बालुवा उत्खनन गरिरहेको अवस्थामा एक्साभेटर सहित चालक नरेशराम महरालाई डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेल नेतृत्वको टोलीले गत पुस १३ गते पक्राउ गरेको थियो।

अनुसन्धानको क्रममा काली वन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरिलाल स्याङ्तानलाई पनि वन कार्यालयले पक्राउ गरेको छ। चालकसहित एक्साभेटर नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त काम हिमडुङ एण्ड थोकर कन्सट्रक्सन प्रालि, टोखा नपा ७ धापासी काठमाडौंको रहेको पत्ता लागेको थियो।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष नुवाकोटका प्रतिनिधिसभा सदस्य लामा, अर्का सञ्चालक नुवाकोटकै पञ्चकन्या ५ का निर्मलप्रसाद सिटौला र चितवन भरतपुर ९ का शिव घिमिरे रहेको विवरण खुलेपछि कम्पनीका प्रतिनिधिलाई पुस १५ गते वन कार्यालयले सम्पर्कमा आउन पत्र लेखेको थियो।

जिल्ला अदालतबाट दोस्रोपटक म्याद थप हुँदासमेत कम्पनीका कुनै व्यक्ति सम्पर्कमा नआएपछि अदालतको अनुमतिमा पुस २८ गते कम्पनीका तीनैजना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजी कार्य भइरहेको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख पौडेलले बताए । सञ्चालकहरूसँगै उक्त कम्पनीको बकैया ७ स्थित अठारविगाह सम्पर्क कार्यालयमा काम गर्ने नुवाकोटको विदुर १० का सुवास डंगोलविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको उनले जानकारी दिए।

प्रकाशित मिति : 08:38