१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

नेपाल र बेल्जियमबीच व्यापार, लगानी, पर्यटनमा सहकार्य वृद्धि हुने

७ माघ, काठमाडाैँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बेल्जियमसँगको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले सदैव उच्च महत्त्व दिएको बताएका छन । मंगलबार रक्षा मन्त्रालयमा बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई स्वागत गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल र बेल्जियमबीच लामो समयदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै उक्त सम्बन्धलाई दुई देशबीच व्यापार, लगानी तथा पर्यटनको विस्तारमार्फत थप फराकिलो, प्रगाढ र प्रतिफलमुखी बनाउन आवश्यक रहेको बताए ।

पाेखरेलले बेल्जियम सरकारले नेपालको आर्थिक¸ सामाजिक विकासमा पुर्¬याएको सहयोगका लागि नेपाली जनता र नेपाल सरकारको तर्फबाट बेल्जियम सरकारलाई धन्यवाद व्यक्त गरे । उपप्रधानमन्त्री पोखरेलले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा नेपाल भ्रमणमा राजकुमारीले नेपाल भ्रमण गर्नु ज्यादै राम्रो भन्दै खुशी प्रकट गरे ।

उपप्रधानमन्त्री पोखरेलले लामो राजनैतिक संक्रमणपछि नेपालमा राजनीतिक स्थायित्व कायम भएको र अब मुलुकको ध्यान आर्थिक समृद्धितर्फ मोडिएको बताउँदै वर्तमान सरकारले अघि सारेको “सुखी नेपाली, समृद्ध नेपाल” को सोचलाई कार्यान्वयनमा उतार्न सबै मित्रराष्ट्रहरूबाट सहयोगको अपेक्षा लिइएको बताए ।

भेटको अवसरमा बेल्जियमकी राजकुमारी एस्ट्रिडले दुइ देशको बीचमा लामो समयदेखि अत्यन्त असल मित्रको सम्बन्ध रहेको चर्चा गर्दै नेपालमा हालका दिनमा राजनैतिक स्थिरता कायम भएकोमा खुशी व्यक्त गरिन । उनले आफू अध्यक्ष रहेको डामेइन फाउण्डेसनले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा नेपाल लगायतका मुलुकहरूमा कुष्ठरोग र क्षयरोगको निवारणका क्षेत्रमा महत्त्वपूर्ण कार्य गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी गराइन ।

नेपाल र बेल्जियमबीच आगामी दिनमा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन दुई देशबीच व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्दै जान आवश्यक रहेको र यसका लागि आफूले सक्दो पहल गर्ने बताइन । भेटमा एस्ट्रिडका श्रीमान्, बेल्जियमका लागि नेपालका महामहिम राजदूत, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 21:33