अग्नी सापकोटालाई सभामुख बनाउने नेकपाको औपचारिक निर्णय, काे हुन सापकाेटा ?
५ माघ, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बसेको सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सापकोटालाई सभामुखको उमेदवार बनाउने सहमति जुटेपछि सचिवालय बैठक बोलाइएको थियो । सापकोटालाई उम्मेदवार बनाउने निर्णयसँगै उपसभामुखलाई राजिना दिन समेत आग्रह गरेको छ ।

काे हुन् सापकाेटा ?
सिन्धुपाल्चोक जिल्ला चौतारा-६ कुविण्डे टोलमा ०१४ साल फागुन २४ गते अग्नि सापकोटाको जन्म भएको हो । धनपति सापकोटा र तिलमाया सापकोटाका छोरा अग्निका ३ छोरा छन् ।
साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी सापकोटा पछिल्लो ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भए । ०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक गरी २ वर्ष जेल जीवन बिताएका छन् ।
०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए । ०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए । सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन गर्दा उनी शिक्षक राजनीतिमै सक्रिय थिए ।
प्रधानाध्यापक छोडेर उनी पूर्णकालीन राजनीतिमा होमिएका थिए । ०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदा सम्म भूमिगत नै थिए । सापकोटा २ पटक मन्त्री भइसकेका छन् । सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन् ।
प्रकाशित मिति : 18:07









