३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

सभामुख चयन गर्न नेकपा सचिवालय बैठक बस्दै

५ माघ, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख चयन गर्न आइतबार अपरान्ह ४ बजे सचिवालय बैठक बोलाएको छ । दुई अध्यक्षबीचको छलफलपछि अपरान्ह ४ बजेलाई सचिवालय बैठक बोलाइएको महासचिव विष्णु पाैडेलले जानकारी दिए ।

नेकपामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विवाद छ । यसअघि सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सूचना टाँसेर स्थगित भइसकेको छ। पुस ४ गते संसदको हिउँदे अधिवेशन सुरू भए पनि सभामुख चयनमा सहमति हुन नसक्दा संसद अवरूद्ध हुँदै आएको छ।

प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई बनाउन चाहेका छन्। उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुखमा दाबी गर्दै आइरहेकी छन्।

एक साताअगाडि नेकपा सचिवालय बैठकले उपसभामुखलाई राजीनामा दिन भने पनि सभामुमखको उम्मेदवार तय नहुँदासम्म राजीनामा नदिने अडान उनले राखेकी छन्। संसदको बैठक माघ ६ गतेका लागि बोलाइएको छ।

प्रकाशित मिति : January 19, 2020 at 12:58 pm