१२ हजार मान्छे राज्यको तर्फबाट मारिएका हुन्, ५ हजार मारिएको जिम्मा म लिन्छुः अध्यक्ष प्रचण्ड
१ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि जनयुद्धका क्रममा मारिएका सबै १७ हजार जनाको हत्या आरोप लगाएको भन्दै गुनासो गरेका छन् । थारु राष्ट्रिय माघी महोत्वसकाे अवसरमा काठमाडौँमा बुधबार सम्बोधन गर्दै उनले राज्यबाट मारिएका १२ हजार मान्छेको हत्या आरोप पनि आफैंमाथि लागको भन्दै गुनासो गरेका हुन्।
अध्यक्ष प्रचण्डले भने, ‘मैले १७ हजार मान्छे मारेर आएको भन्ने गरिन्छ, त्यो सत्य होइन, हिजोको सामन्ती राज्यले १२ हजारको हत्या गरे। त्यसको कसैले वास्ता नै गरेन’, ‘जनयुद्धको जिम्मा मेरो हो। तर, १७ हजार होइन ५ हजारजना मारिएको जिम्मा म लिन्छु।’ राज्यले मारेको १२ हजार पनि आफ्नै टाउकोमा हालेको कुरा मान्य हुँदैन । नगरेको कामको कुनै पनि हालतमा आफू जिम्मा लिन तयार नहुने अध्यक्ष प्रचण्डले बताए।

रेशम चौधरी चाँडै छुट्छन्
अध्यक्ष प्रचण्डले टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त तथा राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशम चौधरी चाँडै छुट्ने पनि विश्वास दिलाए। ‘रेशमलाई प्रधानमन्त्रीको हैसियतमा खुलेआम भेट्ने प्रधानमन्त्री म नै थिएँ’, उनले भने, ‘डिल्लीबजारस्थित सदर खोरमा गएर भेट्ने पनि म नै हो।’ भिडियो रेसश चौधरीलाई सांसदको भूमिका दिनुपर्छ भनेर आफैंले पहल गरेको उनले जानकारी दिए।
टीकापुर घटनामा झुटा मुद्दामा परेकालाई पनि सरकारले छुटाउने उनले बताए। ‘टीकापुर घटनाका केही छुटिसकेका छन्’, उनले भने, ‘रेशमलगायतका नेताहरु छुटाइन्छ। त्यो केही समयमा नतिजा आउँछ।’ आफैसँग जनयुद्धमा लागेकाहरु आजसम्म जेलमा रहेको पनि उनले बताए। ‘आन्दोदन, संघर्ष, क्रान्ति ठूलो पहाड चढ्नु जस्तै हो’, उनले भने, ‘संविधान बन्नु पहिले थारुको उत्थान र पहिचानको रक्षाका लागि मैले नै माग गरेको हुँ।
‘ नेकपा पार्टीको अध्यक्षको हैसियतमा उनले संविधानमा सबै क्षेत्रलाई समावेश गरिनुपर्ने बताए। ‘अहिले हामी चौतारीमा सुस्केरा मारिरहेका छौँ’, उनले भने, तर, हाम्रो आन्दोलन रोकिएको छैन।’ सबैको पहिचानको बिषयमा अहिले पनि बहस चलिरहेको उनले जनाए। अध्यक्ष दाहालले आफूले कुनै पनि कुरा लिँदा आफ्नो पोल्टाको कुरा सुरक्षा गर्न सक्नुपर्ने धारणा राखे। ‘समाज विकासको क्रममा एकैपटक प्राप्त हुँदैन’, उनले भने, ‘त्यसलाई आफुले जोगाउन पनि सक्नुपर्छ।’
प्रकाशित मिति : 17:29









