महरालाई थुनामै राख्ने जिल्ला अदालतकाे आदेश उच्च अदालतबाट सदर
३ पुस, काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ ।

न्यायाधीशहरु नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले महराले गरेको पुनरावेदनको निवेदनमाथि सुनुवाई गर्दै जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न यसअघि जिल्ला अदालत काठमाडौँले आदेश दिएको थियो ।
हाल डिल्लीबजार कारागारमा थुनामा रहेका महराले साधारण तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए । यससँगै महरा थुनामै रहने भएका छन् ।
प्रकाशित मिति : 18:24









