अन्ततः प्याब्सन पनि सामाजिक सुरक्षामा, कार्यान्वयनका बाधा हटाउने श्रममन्त्रीको प्रतिवद्धता
६ भदाै, काठमाडाैँ । निजी तथा आवासीय विद्यालयको सङ्गठन (प्याब्सन) ले सङ्गठनमा आबद्ध विद्यालयलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउने प्रतिबद्धता व्यक्त गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको छलफलमा प्याब्सनका पदाधिकारीले श्रमिकको जीवनलाई सुरक्षा प्रदान गर्न ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आफूसँग आबद्ध शिक्षक तथा कर्मचारीलाई सूचीकृत गराउन तयार रहेको बताए ।
प्याब्सनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँले सरकारले ऐतिहासिक युग परिवर्तनको घोषणाका रुपमा ल्याएको सामाजिक सुरक्षा योजनामा सहभागी हुन आफूहरु तयार रहेको बताउनुभयो । “सरकारले ल्याएको कार्यक्रलाई प्याब्सनले सहजै स्वीकार गरेको छ”, उहाँले भन्नुभयो, “कुनै गलत मनशाय छैन्, सामाजिक सुरक्षा कोषमा जाने नै हो, कुनै शङ्का छैन ।”
नेपालमा सञ्जालको हिसाबले प्याब्सन ठूलो सङ्गठनका रुपमा रहेको छ । प्याब्सनको ७४ जिल्लामा सञ्जाल रहेको छ । प्याब्सनसँग करीब ६ हजार ३०० विद्यालय आबद्ध छन् । ती विद्यालयमा एक लाख २५ हजार शिक्षक तथा कर्मचारी कार्यरत रहेको प्याब्सनले जनाएको छ ।
प्याब्सनले सरकारले तोकेको समयसीमाभित्रै सबै विद्यालयलाई कोषमा सूचीकृत गराउन आह्वान गर्ने पनि जनाएको छ । यही असोज मसान्तभित्र सम्पूर्ण प्रतिष्ठान कोषमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको छ । छलफलमा प्याब्सनका पदाधिकारीले सम्पूर्ण विद्यालयलाई कोषमा आबद्ध भई योगदान रकम दाखिला गर्न भने केही समय लाग्ने बताएका थिए ।

छलफलमा श्रममन्त्री गोकर्ण विष्टले सूचीकरणका क्रममा आइपर्ने नीतिगत तथा प्रक्रियागत व्यवधान सहजीकरण गर्न मन्त्रालय हरसमय तयार रहेको बताउँदै तोकिएको समयमै कोषमा सूचीकृत हुन आग्रह गर्नुभएको थियो । योजनामा सहभागी हुने संस्थाका लागि आफू जहिले पनि सहयोग गर्न तयार रहेको जनाउँदै उहाँले आधारभूत पारिश्रमिकलाई आधार मानेर श्रमिकको योगदान कोषमा कट्टी गर्न सहजीकरण गरिदिने बताउनुभयो । “अहिले कोषमा सूचीकृत भएर जाउँ”, मन्त्री विष्टले भन्नुभयो, “कार्यान्वयनका क्रममा कुनै समस्या देखिए समस्या समाधान गर्न सरकार तयार छ ।”
बढीभन्दा बढी श्रमिकलाई आकर्षित बनाउन सरकारले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ संशोधन गरी योगदानकर्तामैत्री बनाएको छ । कोषका अनुसार हालसम्म चार हजारभन्दा बढी प्रतिष्ठान सूचीकृत भइसकेका छन् । पछिल्लो समय कोषमा सूचीकृत हुने क्रम बढेको छ । सरकाले पनि कोषको कामकारवाहीलाई प्रभावकारी बनाउन संरचनागत, प्रक्रियागत तथा नीतिगतरुपमा व्यापक सुधार गरेको छ ।
श्रम मन्त्रालयले सबै प्रतिष्ठानलाई कोषमा सूचीकृत भई आफ्ना श्रमिकलाई योजनामा सहभागी गराउन बहुपक्षीय छलफल शुरु गरेको छ । आइतबार होटल एशोसिएशन अफ नेपाल (हान) सँग पनि छलफल गर्ने मन्त्रालयले जनाएको छ । त्यस्तै उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) सँग पनि छफलको तयारी गरेको छ ।
गत मङ्सिर ११ गते योजनाको शुभारम्भ गरिएको थियो । गत साउन १ गतदेखि पूर्णरुपमा कार्यान्वयनमा आएको यस योजनामा सहभागी हुने योगदानकर्ताले विभिन्न प्रकारका सामाजिक सुरक्षा योजनाबाट लाभ लिन सक्नेछन् । कोषमा नियमित योगदान गर्ने योगदानकर्ता औषधोपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा वृद्धअवस्था सुरक्षा योजनाबाट लाभान्वित हुन सक्नेछन् ।
नियमित÷कार्यगत÷समयगत÷दैनिक÷आकस्मिक वा आंशिक समय काम गर्ने सम्पूर्ण श्रमिकले अनिवार्य रुपमा कोषमा सूचीकृत हुनुपर्ने छ । सम्पूर्ण प्रतिष्ठान तोकिएको समयभित्रै अनिवार्य रुपमा सूचीकृत हुनुपर्ने कोषले जनाएको छ । कोषमा सूचीकृत नहुनेले श्रमिकको सम्पूर्ण जोखिमको जिम्मेवारी सम्बन्धित प्रतिष्ठानले नै लिनुपर्नेछ । रासस
प्रकाशित मिति : August 23, 2019 at 7:38 pm









