११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन पहिलो पटक विदेशी पाहुनालाई निम्ताः मेयर शाक्य

४ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रिय पर्व इन्द्रजात्रालाई अब अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउने चाडका रुपमा मनाउने बताउनु भएको छ । बुधबार (आज) इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफलमा मेयर शाक्यले यस्तो बताउनु भएको हो ।

‘इन्द्रजात्रा नेवाः समूदायको मात्र पर्व होइन यो राष्ट्रिय पर्व हो, यसलाई सबै जातजातिको साझा पर्वका रुपमा मनाउनुपर्छ,’ शाक्यले भन्नुभयो, ‘नेवाः समूदायको बाहुल्यता भएको ठाउँमा भएकाले स्वाभाविकै रुपमा नेवाः समूदायले पर्वको समन्वय गर्ने भइ नै हाल्यो तर यो सबैको साझा पर्व हो । अब यसलाई यो वर्षबाट अन्तराष्ट्रियस्तरमा पनि चिनाउने गरी मनाउने तयारी भएको छ । यसमा मलाई खुशी लागेको छ ।’

उहाँले छलफलका क्रममा विगतका वर्षमा भन्दा यो वर्ष इन्द्रजात्रालाई भव्यरुपमा सम्पन्न गर्न महानगरपालिकाले विषेश समन्वय गरेको पनि जानकारी दिनुभयो । ‘हामीले इन्द्रजात्रा अवलोकनका लागि यो वर्ष महानगरपालिकासँग भगिनी सम्बन्ध भएका विभिन्न देशका धेरै नगर प्रमुखहरूलाई निम्ता गरेका छौँ । त्यस मध्ये १३ वटा नगरपालिकाका ५ मेयरसहित ४८ जनाले सहभागिता जनाउने निश्चित भइसकेको छ,’ शाक्यले भन्नुभयो, ‘हामी अहिले नेपाल भ्रमण वर्ष २०२० को तयारीमा जुटेका छौँ । हामीले उहाँहरुलाई निम्ता गर्नुको प्रमुख कारण नेपाल चिनाउनका लागि पनि हो ।’

चीन, जापान र संयुक्त राज्य अमेरिकाबाट इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनालाई यहाँको मूर्त–अमूर्त सम्पदाका बारेमा जानकारी गराउने तयारी समेत महानगरपालिकाले गरेको छ । ‘चार रात पाँच दिनका लागि नेपाल आउने पाहुनालाई हनुमानढोका दरबार, स्वयम्भू, चन्द्रागिरी पाटन, भक्तपुर दरबार स्क्वायर लगायतका स्थानको अवलोकन गराउने तयारी भएको छ,’ मेयर शाक्यले भन्नुभयो, ‘यहाँको सस्कृति, सम्पदा र पर्यटनका बारेमा जानकारी गराउन पाहुनालाई नासल चोकमा रात्रिभोज सहित साँस्कृतिक कार्यक्रम गर्ने तयारी पनि हामीले गरेका छौँ ।’

त्यसै गरी महाकाली नाच, लाखे नाच, पुलुकिसि नाचसँगै कुमारीको दर्शन र जात्रासँग सम्बन्धित विभिन्न गुठीबारे जानकारी गराउने पनि महानगरपालिकाले तयारी गरेको छ । उहाँले यसले भगिनी सम्बन्ध स्थापित गरेका नगरसँग यहाँको पर्यटन प्रवद्र्धनका बारेमा अनुभव आदन–प्रदान हुने बताउनुभयो । विगतमा इन्द्रजात्राका लागि केन्द्र सरकारले नै आर्थिक सहयोग गर्दै आएको स्मरण गराउँदै मेयर शाक्यले सरकारको अनुमति अनुसार नै अघिल्लो वर्षदेखि स्थानीय सरकारले सहयोग गर्ने गरेको जानकारी पनि गराउनुभयो । ‘इन्द्रजात्राको सबै तयारी गर्नुहोला महानगरपालिकाले आर्थिक अभाव हुन दिदैँन,’ उहाँले भन्नुभयो, ‘स्थानीय सरकारसँग मिलेर यहाँका पर्व–जात्रा लगायत सबै सम्पदा र संस्कृतिको जगेर्ना गरौँ ।’

इन्द्र जात्रा के हो ?
इन्द्र स्वर्गका राजा हुन् । यो पर्व उनै इन्द्रदेवका नाममा समर्पित छ । इन्द्रदेवलाई नेपालभाषामा ‘यमाःद्यः’ भनिन्छ । यही ‘यमाःद्यः’ बाट ‘येँ’ शब्द उत्पत्ति भएको हो । काठमाडौंलाई नेपालभाषामा ‘येँ’ भनिन्छ भने इन्द्रजात्रालाई ‘यँयाः’ भनिन्छ जसको अर्थ ‘काठमाडौंको जात्रा’ भन्ने हुन्छ ।

राजा गुणकामदेवले व्यवस्थित काठमाडौं शहर बसाए पछि त्यसैको सम्झना स्वरुप इन्द्रजात्रा अर्थात ‘यँयाः’ पर्व चलाएको विश्वास गरिन्छ । ‘यँयाः’ अर्थात इन्द्रजात्रा काठमाडौंकै नामबाट चलाइएको पर्व भएको कारणले पनि काठमाडौं महानगरपालिकाले यो जात्रालाई विशेष महत्व दिई अन्तर्राष्ट्रिय रुपमै प्रचार हुने शैलीमा मनाउन लागिएको हो ।

आठ दिनसम्म चल्ने यो जात्रा हनुमानढोकामा लिंगो उठाए पछि शुरु हुन्छ । त्यस पछि जीवित देवदेवीहरू श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ काठमाडौंको माथिल्लो र तल्लो भेगमा तान्ने, इन्द्रका आमाका रुपमा परिचित दागिं निकालिने, मरु टोलको बीचमा इन्द्रदेवलाई बाँधेर पूजा गर्ने, राति बौमत निकालिने, पुरानो काठमाडौंको सीमा क्षेत्र परिक्रमा गर्ने गरी उपाकू घुम्ने, हनुमानढोकामा अवस्थित स्वेत भैरव (हाथुद्यः) र इन्द्रचोकमा अवस्थित आकाश भैरव (आजुद्यः) को मुखबाट पितृका नाममा जाँडको तर्पण गर्ने आदि जस्ता सांस्कृतिक कार्यहरू यो जात्रामा गरिन्छ । इन्द्रजात्राकै बेलादेखि काठमाडौंमा कुहिरो लाग्न शुरु हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : August 21, 2019 at 1:54 pm