११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

प्रधानमन्त्रीकाे आह्वानमा सर्वदलीय बैठक बस्दै

३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे सर्वदलीय बैठकका लागि  बाेलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल रहेका छन् ।

बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिंगापुर भ्रमणबारे जानकारी गराउने भएका छन् । प्रधानमन्त्रीले ट्वीटरमार्फत आफू स्वस्थ रहेको बताए पनि भावी परीक्षणबारे विस्तृतमा बताएका छैनन् । आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरे पनि उनले आफ्नो स्वास्थ्यबारे केही बताएनन् । ओलीले आजको सर्वदलीय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिने अपेक्षा छ ।

प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताए पनि बैठकको एजेण्डाबारे जानकारी दिइएको छैन । खासगरी १४ मंसिरमा हुने उपनिर्वाचन तथा सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा नियुक्तिको विषयमा छलफल गर्न ओलीले बैठक बोलाएको बताइएको छ । यी दुवै आयोग गत फागुन महिनादेखि पदाधिकारीविहीन छन् ।

प्रकाशित मिति : 11:07