११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

उपनिर्वाचनका लागि मात्रै ४० करोड खर्च हुने

३ भदाै, काठमाडाैँ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ ।


गत साउन १६ गते १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन् । करीब छ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको उक्त निर्वाचनका लागि आयोगले रु ४० करोड रकम प्रस्ताव गरी निकासाका लागि अर्थमन्त्रालयमा पत्रचार गरिसकेको छ । निर्वाचनको तयारीका लागि आयोग तीव्रताका साथ जुटिरहेको प्रवक्ता खरेलले बताउनुभयो ।

प्रकाशित मिति : 10:12