एनसेलकाे टावरमा आगजनी गर्ने विप्लवका कार्यकर्ता प्रकाशजङ्ग लामिछाने पक्राउ
१९ साउन, पर्वत । गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका–५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता प्रकाशजङ्ग लामिछानेलाई शनिबार नियन्त्रणमा लिएको हो ।

टावरमा आगजनी गर्नेको खोजी गर्ने क्रममा टावर रहेकै वडा निवासी लामिछानेमाथि शङ्का रहेकाले उनलाई घरबाट नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । साउन १५ गते तिलाहारको थानाकोट मन्दिरको डाँडामा रहेको उक्त एनसेलको टावरमा आगजनी भएको थियो ।
आगलागीबाट टावरको केही भाग जलेर आंशिक क्षति भएको थियो । टावरमा कसले आगजनी गरेको भन्नेबारेमा थाहा नभए पनि विप्लव समूहको संलग्नता रहेको अनुमान गरेर संलग्न व्यक्तिको खोजी गरिएको प्रहरी निरीक्षक रायमाझीको भनाइ छ ।
प्रकाशित मिति : August 5, 2019 at 10:27 am









