ससुरालीमा लुकेर बस्थे पक्राउ परेका नेकपाका नेता वडाध्यक्ष सोहेब अनवर
९ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत रहेका अनवरलाई प्रहरीले आइतबार राति गोलबजारबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत साउन १० गते सुनसरीको देवानगञ्ज र साउन १४ गते सिरहाको गोलबजारमा भएका तोडफोड, आगजनी तथा सार्वजनिक शान्तिविरुद्धका घटनामा संलग्न रहेको आरोपमा अनवरविरुद्ध मुद्दा दर्ता भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट् सेना’ नामक संस्थासँग आबद्ध केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको थियो।

प्रहरीका अनुसार अनवर पछिल्लो समय कहिले ससुरालीमा त कहिले अन्य स्थानमा लुकिछिपी बस्दै आएका थिए। उनी घर आएको अवस्थामा समेत प्रहरीबाट बच्न लुक्ने गरेको सूचनाका आधारमा खोजतलास गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ।
गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित अनवर हाल नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत हुन्। घटनामा अनवरको संलग्नताबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रकाशित मिति : October 26, 2026 at 11:35 am










