खोटाङमा ससुराली पुगेर हतियार प्रहार, श्रीमतीसहित चारजना घाइते
९ कात्तिक, काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ससुराली पुगेका एक व्यक्तिले धारिलो हतियार प्रहार गर्दा श्रीमतीसहित चारजना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार हलेसी तुवाचुङ नगरपालिका–३, आहालेका ४३ वर्षीय नइन्द्रकुमार राईले आफ्नै ससुरालीमा पुगेर धारिलो हतियार प्रहार गरेका थिए। उनको प्रहारबाट चारजना घाइते भएका हुन्।
घाइतेमध्ये ४० वर्षीया अञ्जना राईको टाउकोको पछाडिको भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै, ६२ वर्षीया स्यामाउन राईको टाउको तथा दाहिने हातमा चोट लागेको छ। उनको अवस्था पनि गम्भीर छ।

यसैगरी, २५ वर्षीया तेनिना राईको टाउकोमा चोट लागेको छ। उनको अवस्था पनि गम्भीर रहेको छ। नरेन्द्र राईको दाहिने हातमा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते चारैजनालाई उपचारका लागि दुर्छिमस्थित नगर अस्पताल लगिएको छ। उनीहरूको उपचार भइरहेको छ। घटनामा संलग्न रहेको आरोपमा नइन्द्रकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको कारण खुलेको छैन भने प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : October 26, 2026 at 11:34 am










