७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

स्वास्थ्यचौकीमा उपकरण नहुँदा जुम्ल्याहा बच्चासँगै आमाको मृत्यु

१६ साउन, हुम्ला । हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ। बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु भएको हो।

टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा मृत्यु भएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिए। मृतक टमटालाई बुधबार बिहानबाट एक्कासी सुत्केरी व्यथा लागेसँगै स्वास्थ्यचौकीमा पुर्याइए पनि बच्चा जन्माउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुवैको मृत्यु भएको प्रमुख मगियाले जानकारी दिए।

स्वास्थ्यचौकीमा प्रसूतिका साधनको कमीले आमा र बच्चा दुवैलाई बचाउन नसकिएको उनले जानकारी दिए। दुर्गम जिल्ला हुम्लाका प्रायः स्वास्थ्यचौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुनुले अकालमै ज्यान गुमाउने गरेका छन्। जिल्लाका महिलाले सानै उमेरमा विवाह गरेर छिटो बच्चा पाउने हुँदा उनीहरुले ज्यान गुमाउनुपरेको छ। रासस

प्रकाशित मिति : August 1, 2019 at 2:47 pm