७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

९ वर्षीया बालिका वडा सदस्यबाटै बलात्कृत, १ लाख दिएर गाउँमै घटना मिलाउन खाेज्दा पक्राउ

१५ साउन, पर्वत । ९ वर्षीया बालिकालाई बलात्कार गर्ने वडा सदस्य पक्राउ परेका छन् । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली बलात्कारको आरोपमा पक्राउ परेका हुन् । बालिका बलात्कृत भएको घटना गाउँमा नै मिलाउने प्रयास भएपछि पर्वतमा क्रियाशील मानव अधिकारकर्मी र प्रहरीको सहकार्यमा उनलाई एक हप्तापछि पक्राउ गरिएको हो ।

सांकेतिक तस्विर

प्रहरीका अनुसार पराजुलीले आफैँले सञ्चालन गरेको राइस मिलमा साउन ६ गते साँझ ९ वर्षीया बालिकालाई बोलाएर १० रुपैँयामा ललाइफकाइ गरी बलात्कार गरेको पाइएको छ । पीडित बालिकाका आफन्तले बलात्कारको घटना थाहा पाएपछि आरोपितले सुरुमा १० हजार रुपैँया दिने र घटनालाई बाहिर नल्याउने शर्त राखेका थिए । तर फेरि पीडित पक्षको तर्फबाट केही व्यक्तिहरुले १ लाख रुपैँयाको माग गरेपछि रकम दिने सहमति भएको प्रहरीले जनाएकाे छ ।

बालिका बिरामी पर्दै गएपछि एक सातापछि मात्रै उनको आफन्तहरुले बालिकालाई बाग्लुङ अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराएका थिए । बालिका बलात्कारजस्तो जघन्य अपराध गाउँमा नै कानुन विपरीत मिलापत्र भएको जानकारी भएपछि आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : July 31, 2019 at 1:49 pm