७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

जनकपुरधाम उपमहानगरका उपसचिवसहित ६ जनाविरुद्व भ्रष्ट्राचार मुद्दा दायर

१४ साउन, जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र अर्का उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । आर्थिक वर्ष २०७४/२०७५ मा विद्युतीय सामग्रीहरू खरिद गर्दा अनियमितता ११ लाख ३५ हजार ४११ रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले उपसचिव अर्जुनप्रसाद सुवेदीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदी समेतले सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रसँग मिलेमतो गरेको पाइएको अख्तियारको अनुसन्धानले देखाएको छ । एउटै व्यक्तिलाई तीनवटा फर्मको नाममा टेण्डर हाल्न लगाएर सत्याको दररेट स्वीकृत गरेको तथा प्रतिस्पर्धालाई सीमित बनाउन टेण्डर टुक्र्याएको तथा एउटै आर्थिक वर्षमा पटक–पटक सीमाभन्दा बढी मूल्यमा स्वीकृत दररेटभन्दा बढी विद्युतीय सामग्रीहरू खरिद गेको अख्तियारको दाबी छ ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सुवेदी, उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी, नायव सुब्बा अव्दुल जब्बार र सत्या इन्टरप्राइजेजका प्रोप्राइटर मनिषकुमार मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । ठेकेदार कम्पनी सत्या इन्टरप्राइजेज पिपरा ७ महोत्तरीका प्रो मनिषकुमार मिश्रविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ। उनीहरुविरुद्ध ११ लाख ३५ हजार विगो कायम गरिएको छ।

भ्रष्टाचार निवारण ऐन बमोजिम उनीहरुमाथि कैद तथा जरिवानाको मागदाबी गरिएको छ। सुवेदीसमेतले सत्या इन्टरप्राइजेजका प्रो.मनिषकुमार मिश्रसँग एकआपसमा मिलेमतो गरी अनुचित प्रभावमा परी लिनेखाने दूषित मनसायले अभिप्रेरित भई खरिदसम्बन्धी कोटेसन माग गरी सत्या इन्टरप्राइजेज समेतका तीनवटा फर्मको नाममा मिलेमतो गरी एउटै व्यक्तिको हस्तलिपीबाट दररेट पेश गर्न लगाई, सत्या ईन्टरप्राइजेज दररेट स्वीकृत गरी प्रतिस्पर्धालाई सीमित हुने गरी टुक्रा–टुक्रा पारी, सत्या इन्टरप्राइजेजसँग एक आर्थिक वर्षमा पटक–पटक सीमाभन्दा बढी मूल्यमा स्वीकृत दररेटभन्दा बढी प्रकारका विद्युतीय सामग्रीहरू खरिद गरी, धनुषा जिल्लाले निर्धारण गरेको दररेटभन्दा बढी मूल्यमा खरिद गरेका सामग्रीहरूको कागजातहरूको आधारमा भुक्तानी दिई आफूहरूले गैरकानूनी लाभ लिई नेपाल सरकारलाई एघार लाख पैतीस हजार चार सय एघार रूपैयाँ सन्ताउन्न पैसा बराबरको रकम हानिनोक्सानी पुर्याएको जनाइएको छ।

प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) अर्जुनप्रसाद सुवेदी, उपसचिव मदन घिमिरे, शाखाअधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी र नायव सुव्बा अव्दुल जव्वारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को देहाय (ञ) तथा ऐ ऐनको दफा ८ को उपदफा (३) बमोजिमको कसुर अपराध गरेको पुष्टि भएको हुँदा निजहरूलाई जनही विगो रुपैया एघार लाख पैतिस हजार चार सय एघार रूपैयाँ सन्ताउन्न पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) तथा सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिम सजाय गरी बिगोसमेत असुलउपर हुन मागदाबी लिइएको छ ।

प्रकाशित मिति : July 30, 2019 at 7:32 pm